नेपाल एसिया कपमा छनोट, जित्यो एसिया प्रिमियर कपकाे उपाधि
काठमाडौं । आसिफ शेखको सतक तथा गुल्शन झाको अर्धसतकमा नेपालले एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कप खेल्न छनाेट भएको छ ।
शनिबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई नेपालले तीन सय १४ रनको लक्ष्य दिएको थियोे । प्रत्युत्तरमा युएई ४९ ओभरमा सबै विकेट गुमाउँदा मात्र ३०५ रन बनाउन सक्यो ।
यो फाइनल जित्नेसँगै नेपाल सन् २०२७ को एसिया कपमा स्थान बनाउन सफल भएको छ । नेपाल र युएई दुबै दोस्रो पटक एसिया कप खेल्ने योजनामा थिए ।
सन् २०२५ को एसिया कपमा नेपाललाई हराउँदै युएई पहिलो पटक सहभागी भएको थियो । त्यसअघि नेपालले सन् २०२३ मा पनि युएईलाई नै हराउँदै पहिलो पटक एसिया कप खेलेको हो ।
अब, बंगलादेशमा अर्काे वर्ष हुने एसिया कपमा सर्वाधिक च्याम्पियन भारतसँगै श्रीलंका, पाकिस्तान, आयोजक बंगलादेश र अफगानिस्तान खेल्ने पक्का भइसकेको छ ।
जवाफमा युएईको पाँचौ क्रमका ब्याटर राहुल चोप्रा र सातौ क्रमका ब्याटर सोहाइव खानले अर्धसतक बनाए । राहुलले सर्वाधिक रन बनाउने क्रममा ९४ रन बनाए । त्यसबाहेक सोहाइवले पनि ५७ बलमा ४ चौका र २ छक्कासहित ५२ रनको योगदानगरेका थिए ।
त्यस्तै, ओपनर तानिश सुरीले २८ बलमा चार चौका र ३ छक्कासहित ४२ रन बनाए । कप्तान हरप्रित सिंहले ३३ रनको योगदान गरेका हुन् ।
नेपालका बलर ललित राजवंशीले दुई तथा करण केसी, सन्दीप लामिछाने, रोहित पौडेल र गुल्शन झाले समान एक विकेट लिएका थिए ।
यसअघि कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने गरेको निर्णय प्रभावकारी रह्यो । नेपाली शीर्षक्रमका ब्याटरले एसिया कप छनोटको निर्णायक खेलमा खुलेरै ब्याटिङ गरे । नेपालको ओपनिङदेखि मध्यक्रम सबैले सानदार ब्याटिङ गरेका हुन् ।
ओपनर आसिफ शेखले तीन वर्षपछि सतक बनाए । उनले ं१०६ बलमा १०२ रन बनाएका हुन् । २५ वर्षीय ब्याटरले ८ चौका र ४ छक्का प्रहार गरेका थिए । उनले सतक बनाउँदा नेपालले ३४ ओभरमा दुई विकेट गुमाएर १८५ रन बनाइसकेको थियो ।
आसिफको यो दोस्रो सतक हो । यसअघि उनले कीर्तिपुर मैदानमा पिएनजीविरुद्ध सन् २०२३ मा पहिलो पटक सतक बनाएका थिए । ७६ एकदिवसीय खेल खेलिरहेका आसिफले हालसम्म दुई सतक र १५ अर्धसतक बनाएका छन् ।
अर्का ओपनर अर्जुन कुमालले आसिफसँगै उत्कृष्ट सुरुआत गरेका थिए । दुई खेलाडीबीच पहिलो विकेटको लागि ९७ रनको साझेदारी भएपछि अन्य ब्याटरलाई समेत बिना दबाब खेल्न सहज भएको थियो । युवा ओपनर अर्जुनले ६३ बलमा ४३ रन बनाएर रन आउट भए ।
गुल्शन झाले आक्रमक अर्धसतक बनाए । पाँचौं नम्बर क्रिजमा आएका उनले ३८ बलमा तीन चौका र ४ छक्का हिर्काएका हुन् । छक्का हान्नेक्रममा उनलाई अबरार अहमदले तानिस सुरीबाट क्याच गराएका थिए ।
पूर्व कप्तान रोहितकुमार पौडेलले पनि ४४ बलमा ४० रनको योगदान गरे । उनले २ चौका प्रहार गरेका थिए । रोहितले क्रिजमा आसिफ र गुल्शनसँग दुई बलियो साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याएका थिए ।
रोहित र आसिफबीच तेस्रो विकेटको लागि ५३ बलमा ६८ रनको साझेदारी भयो । चौथो विकेटको लागि रोहितले गुल्शनसँग ५४ बलमा ६७ रनको तेस्रो ठूलो साझेदारी गरेका हुन् ।
बसिर अहमद १५ रनमा अविजित रहे । उनले चार बलमा दुई चौका र एक छक्का हिर्काएका थिए । यसअघि तेस्रो नम्बर क्रिजमा आएका इशान पाण्डे १३ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरीले पनि १८ बलमा १८ रन बनाएका हुन् ।

