मोरङको बूढीगंगामा बसको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु
विराटनगर । मोरङको बूढीगंगामा बसले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरीका एक सहायक हवल्दारको मृत्यु भएको छ।
सोमबार साँझ करिब ५ः३० बजे कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकमा दुर्घटना भएको हो।
मोरङ ट्राफिक प्रहरीका अनुसार वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ बाटो काट्दै गरेको प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक बूढीगंगा–४ का ३६ वर्षीय सुदीप खड्का गम्भीर घाइते भएका थिए। उनको टाउको, छाती, दुवै हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो।
गम्भीर घाइते खड्कालाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले साँझ ६ः५२ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतक खड्का सशस्त्र प्रहरी बल नेपालअन्तर्गत बीओपी स्वर्णकट्टी, सप्तरीमा कार्यरत रहेको खुलेको छ।
प्रहरीले बस र मोटरसाइकल नियन्त्रणमा लिनुका साथै बस चालक सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकका ४८ वर्षीय राजन दाहाललाई पक्राउ गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बसको तीव्र गति र मोटरसाइकलले अचानक बाटो काट्दा दुर्घटना भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

