सुनसरीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद
सुनसरी । सुनसरीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका लत्ताकपडा र चिनी बरामद गरेको छ।
प्रहरीका अनुसार भदौ २९ गते इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टोलीले गढी गाउँपालिका–२ मा यात्रुबाहक म्याजिक चेकजाँच गर्दा भन्सार छली ल्याइएका करिब १ लाख ६९ हजार २ सय रुपैयाँ बराबरका लत्ताकपडा बरामद गरेको हो।
त्यस्तै, अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको टोलीले बराहक्षेत्र नगरपालिका–३ बाट करिब ४५ हजार रुपैयाँ बराबरका लत्ताकपडा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको टोलीले देवानगञ्ज गाउँपालिका–३ बाट करिब ३१ हजार २ सय रुपैयाँ बराबरका लत्ताकपडा र १० हजार रुपैयाँ बराबरको चिनी बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामानको कुल मूल्य करिब २ लाख ५५ हजार ४ सय रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

