जंगलबाट ८ नाल अवैध भरुवा बन्दुक बरामद
घोराही । दाङका विभिन्न स्थानका जंगलबाट प्रहरीले ८ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले बुधबार बिहान ६ बजेदेखि ११ बजेसम्म विभिन्न स्थानमा विशेष अपरेसन सञ्चालन गरेको थियो।
प्रहरीका अनुसार राजपुर गाउँपालिका–७ भैसाही खोलाको किनारबाट १, बंगलाचुली गाउँपालिका–१ ठूलोभीर सामुदायिक वनबाट २, दंगीशरण गाउँपालिका–१ बुर्केसालबाट २, शान्तिनगर गाउँपालिका–३ सिर्जना सामुदायिक वनबाट १ र लमही नगरपालिका–९ आमखोली सामुदायिक वनबाट २ नाल भरुवा बन्दुक बरामद गरिएको हो।
बरामद बन्दुकबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

