यात्रुवाहक इभी १ हजार मिटर तल खस्दा ४ जनाको मृत्यु
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक इभी सडकबाट करिब १ हजार मिटर तल खस्दा चालकसहित चार जनाको मृत्यु भएको छ।
मंगलबार दिउँसो करिब २ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको इभी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा दुर्घटनामा परेको हो।
दुर्घटनामा चार पुरुषको घटनास्थलमै मृत्यु भएको छ। गाडीमा सवार चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौं तथा एक महिलालाई हेटौँडा पठाइएको प्रहरीले जनाएको छ।
गाडीमा चालकसहित आठ जना सवार रहेको खुलेको छ। दुर्घटनापछि प्रहरी तथा ट्राफिक प्रहरीको २१ जनाको टोली उद्धारमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

