१९ दिनसम्म बन्धक बनाएर बालिका बलात्कार घटनामा ताहिर जेल चलान

सुभाष कायस्थ/जनकपुरधाम। करिब डेढ वर्षअघि जनकपुरधामको एक बालिकालाई १९ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको घटनामा मुख्य अभियुक्त भनिएको ताहिर राइन पुर्पक्षका लागि कारागार चलान गरिएको छ । 

धनौजी गाउँपालिकाकी १६ वर्षीया ती बालिकालाई विवाहको प्रलोभन देखाएर अपहरण गरी जनकपुरधामका दुई होटलमा लगेर बलात्कार तथा बन्धक बनाएको आरोपमा पक्राउ परेका मुख्य अभियुक्त ताहिर राइन पुर्पक्षका लागि कारागार चलान गरिएको हो । 

धनुषा जिल्ला अदालतले २३ वर्षीय राइनलाई पुर्पक्षका लागि थुनामा पठाउन भदौ २६ गते आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटना मिलाउन २० लाख रुपैयाँको प्रलोभन पीडित पक्षलाई दिएको आरोप लागेका धनौजी गाउँपालिका-५ का वडाध्यक्ष याकुब कवारी भने एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । धनुषा जिल्ला अदालतले सोमबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । 

पीडित बालिकाको जाहेरी दर्तापछि ताहिर राइन कतार पुगेका थिए । नेपाल प्रहरीले उनलाई इन्टरपोलमार्फत पक्राउ गरी गत २५ साउनमा नेपाल ल्याएको थियो । बालिकाको बयान तथा अनुसन्धानका आधारमा वडाध्यक्ष कवारीलाई समेत धनुषा प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो ।

बालिकालाई दुई-दुईपटक अपहरण गरी बलात्कार गरिएको आरोप तिनीहरुमाथि छ । पहिलोपटक २९ चैत २०८१ मा अपहरणमा परेको आरोप छ । आमा खेतमा गएको बेला घरनजिकै पसल सञ्चालन गर्ने ताहिर राइनले विवाह गर्ने प्रलोभन देखाएर उनलाई अपहरण गरी जनकपुरधाम ल्याएको र विभिन्न होटलमा लगेर आफूसहित अन्य व्यक्तिले जबर्जस्ती करणी गरेको अभियोग छ ।

सो बेला पीडित बालिका त्यहाँबाट भागेर ज्यान जोगाउन सफल भएकी थिइन् । केही दिनपछि ३ जेठ २०८२ मा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी थिइन् । पीडित बालिकाले जाहेरी दिए पनि सुरक्षित रहन सकिनन् । जाहेरी दिएको डेढ महिनापछि १७ असार २०८२ को बिहान करिब ४ बजे बाख्रा बाँध्न घरको दैलोमा निस्किएको बेला उनलाई फेरि अपहरण गरिएको अभियोगपत्रमा उल्लेख छ ।

जाहेरीअनुसार अञ्जली महरासहित तीनजना व्यक्तिले गाडीमा आएर उनको आँखामा कपडा बाँधी अपहरण गरेका थिए । अपहरण गरी उनलाई जनकपुर ल्याएर पिडारीचोकस्थित होटल सीएफसीमा दुई दिन राखिएको र त्यसपछि मुरलीचोकस्थित मधेश प्रदेश गेस्ट हाउसमा १७ दिनसम्म बन्धक बनाइएको मुद्दाको मिसिलमा भनिएको छ । 

मधेश प्रदेश होटलमा बालिकामाथि जबर्जस्ती करणी भएको र होटल सञ्चालकसहितका प्रतिवादीले अन्य व्यक्तिबाट समेत रकम लिएर उनलाई जबर्जस्ती करणी गर्न लगाएको अभियोग मिसिलमा उल्लेख छ ।

यो घटनामा जिल्ला अदालत धनुषामा दुईवटा मुद्दा दर्ता छन् । मुद्दामा दुई प्रहरीसहित करिब एक दर्जन व्यक्ति अभियुक्त रहेको छ । मानव बेचबिखन, अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा २९ चैत २०८१ को घटनासँग सम्बन्धित छ भने जबरजस्ती करणीसम्बन्धी मुद्दा १७ असार २०८२ को पुनः अपहरण घटनासँग सम्बन्धित छ ।

यी मुद्दाका अधिकांश अभियुक्त अझै फरार रहेकाले घटनापछि चौतर्फी दबाब र सुरक्षाको चुनौतीका कारण पीडित बालिका अझै सेफ हाउसमै बस्न बाध्य रहेकी छिन् ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।