शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला मध्यमार्गी धारमै रहने, संस्थपन र इतर समूहको १५औं महाधिवेशनमा सहभागी नहुने घोषणा गरेका छन् ।

बिहीबार दिउँसो अपिल जारी गर्दै उनले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। नेता कोइरालाले पार्टी एकता, सहमति र सहकार्यको माध्यमबाट मुलुकको राष्ट्रियता तथा लोकतान्त्रिक आन्दोलनलाई बलियो बनाउनुपर्ने बताउँदै कांग्रेसका घोषित दुई महाधिवेशन स्थगन हुनुपर्ने भनेका छन् ।

‘मेरो पीडा कांग्रेसको आसन्न घोषित दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो,’ उनले वक्तव्यमा भनेका छन्, ‘यो रोकौं, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं।’

नेता कोइरालाले कांग्रेसको गौरवशाली इतिहास, संस्थापक नेताहरूको त्याग, निष्ठा र लोकतान्त्रिक आदर्शलाई स्मरण गर्दै पार्टी विभाजनप्रति दु:ख व्यक्त गरेका छन्। उनले कांग्रेसका संस्थापक नेता बीपी कोइरालालगायतका नेताहरूको राजनीतिक, नैतिक, सामाजिक तथा सांस्कृतिक जीवनदर्शन सम्पूर्ण कांग्रेसजन र नेपाली जनताका लागि प्रेरणादायी रहेको बताएका छन्।

‘दु:खका साथ भन्नुपर्छ यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन् मलाई थाहा छैन,’ उनले भनेका छन्, ‘मलाई यसबाट पीडा छ र मेरो पीडासँग तमाम कार्यकर्ता साथीहरूको भावना जोडिएको छ, जो कांग्रेस एकढिक्का भएर राष्ट्र निर्माणमा यो पार्टीको नेतृत्वदायी भूमिका होस् भन्ने चाहन्छन्।’

कोइरालाले कांग्रेसको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पार्टी विभाजित, विघटनकारी र गन्तव्य हराएको माझीजस्तो भएको टिप्पणी गरेका छन्। उनले कांग्रेसजन मानसिक रूपमा कमजोर र निरीह हुन नहुने बताएका छन्। ‘हामी जो आफूलाई कांग्रेस भन्छौं र कांग्रेस हुनुमा गौरव पनि अनुभव गर्छौं, किमार्थ पनि मानसिक रूपमा यति कमजोर र निरीह नहुनुपर्ने हो,’ उनले भनेका छन्।

कोइरालाले पार्टीभित्रको विभाजनबाट आफू रोमाञ्चित हुन नसक्ने स्पष्ट पारेका छन्। उनले कसैलाई सही वा गलत ठहर गर्दै आरोप–प्रत्यारोपमा उत्रनुभन्दा पार्टी एकताको बाटो खोज्नुपर्ने बताएका छन्।

‘म को ठीक, को बेठीक भनेर वकालत कसरी गर्न सक्छु ?’ उनले प्रश्न गरेका छन्। कांग्रेसकै साथीभाइप्रति असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने पार्टीको महलमा आफू बस्न नसक्ने उनको भनाइ छ।

‘कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनि विजयी कांग्रेस भनेर कसरी उत्सव मनाउन सकिन्छ होला ?’ उनले भनेका छन्। उनले यस्तो संस्कार कांग्रेसको संस्कृति र आफ्नो राजनीतिक चेतनाभन्दा भिन्न रहेको उल्लेख गरेका छन्।

विश्व राजनीतिमा भइरहेको परिवर्तनको प्रभाव नेपालमा समेत परिरहेको सन्दर्भमा बीपी कोइरालालाई स्मरण गर्दै नेता कोइरालाले राष्ट्रिय अस्मिता र लोकतन्त्र जोगाउन कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन्।

कोइरालाले मध्यमार्ग कठिन भए पनि सत्यको बाटो र कांग्रेसको जीवनदर्शन भएको उल्लेख गरेका छन्। ‘मलाई थाहा छ मध्यमार्ग कठिन मार्ग हो, मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो। यही मार्ग कांग्रेसको मार्ग हो, र यही मार्ग कांग्रेसको जीवन दर्शन हो,’ उनले वक्तव्यमा भनेका छन्।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।