धनकुटाको साँगुरीगढीमा मानव अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
हिराराज राई, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश प्रमुख वीरबहादुर मगरको अध्यक्षता र साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईको प्रमुख आतिथ्यमा एकदिने मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मानव अधिकारको संरक्षण, प्रवर्द्धन तथा स्थानीय तहको भूमिका, नागरिकका अधिकारको सुनिश्चितता, सुशासन, जवाफदेहिता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले मानव अधिकारमैत्री समाज निर्माणका लागि स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायबीच समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश प्रमुख वीरबहादुर मगरले मानव अधिकारको सम्मान र संरक्षण राज्यका सबै निकायको साझा दायित्व भएको उल्लेख गर्दै स्थानीय तहबाट नागरिकमैत्री सेवा प्रवाह र अधिकारको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए।
प्रमुख अतिथि तथा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले गाउँपालिकाले मानव अधिकारको संरक्षण, सुशासन र समावेशी विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै यस्ता अन्तरक्रिया कार्यक्रमले जनप्रतिनिधि र सरोकारवालाको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

