मोरङ कांग्रेसका नेताहरुको सामूहिक आह्वान : दुई महाधिवेशन होइन, ‘एकताको महाधिवेशन’ गरौं
विराटनगर । नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक मतभेद र विवाद समाधानका लागि कांग्रेस मोरङका नेता तथा कार्यकर्ताले दुईवटा महाधिवेशन प्रक्रियालाई एउटै साझा प्रक्रियामा समाहित गरी ‘एकताको महाधिवेशन’ गर्न आह्वान गरेका छन् ।
कांग्रेस मोरङका विभिन्न तहका नेता तथा कार्यकर्ताले शुक्रबार जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमार्फत संवाद, सहमति र लोकतान्त्रिक विधिबाट पार्टीभित्रको विवाद समाधान गर्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
विवाद समाधान नगरी अलग–अलग रूपमा अघि बढाइएका दुईवटा महाधिवेशनका प्रक्रियाले समस्या समाधान गर्नुको सट्टा पार्टीभित्र समानान्तर संगठन, नेतृत्व र वैधानिकताको दाबी सिर्जना गर्ने जोखिम बढाएको उनीहरूको निष्कर्ष छ ।
महाधिवेशन पार्टी विभाजनको माध्यम नभई कांग्रेसलाई थप सुदृढ र एकताबद्ध बनाउने सर्वोच्च लोकतान्त्रिक अभ्यास बन्नुपर्ने उनीहरूले बताएका छन् ।
संयुक्त विज्ञप्तिमा दुवै महाधिवेशनका प्रक्रियालाई एउटै साझा प्रक्रियामा समाहित गरी ‘एकताको महाधिवेशन’ आयोजना गर्न माग गरिएको छ । साथै, आपसी संवाद, सहमति र लोकतान्त्रिक विधिबाट विद्यमान विवाद समाधान गरी सबै पक्षले स्वीकार गर्न सक्ने निष्पक्ष, स्पष्ट र सर्वस्वीकार्य महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न पनि माग गरिएको छ ।
‘कुनै व्यक्ति वा समूह विशेषको पक्ष–विपक्षमा नभई नेपाली कांग्रेसको पक्षमा रहेको’ स्पष्ट पार्दै उनीहरूले पार्टीको एकता, लोकतान्त्रिक मूल्य, संस्थागत मर्यादा र ऐतिहासिक विरासतको संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
पूर्ण एकता, सबै पक्षको सहमति र सहभागितामा हुने ‘एकताको महाधिवेशन’ले मात्रै बलियो, सक्षम र सबल कांग्रेस निर्माणमा सहयोग पुग्ने उनीहरूको धारणा छ ।
कांग्रेस मोरङका नेताहरूले गुट विस्तारभन्दा पार्टी एकता, जित–हारको राजनीतिभन्दा सहमतिको राजनीति र अलग–अलग महाधिवेशनभन्दा साझा ‘एकताको महाधिवेशन’ अहिलेको आवश्यकता भएको बताएका छन् ।
संयुक्त विज्ञप्तिमा कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकलाई पनि पार्टीको आन्तरिक विवाद समाधान र एकताको महाधिवेशनका लागि केन्द्रित हुन आह्वान गरिएको छ ।
विज्ञप्तिमा मोरङ क्षेत्र नम्बर २ का महाधिवेशन/महासमिति सदस्य गोपालमानसिंह राजभण्डारी, मोरङ क्षेत्र नम्बर ६ का जिल्ला उपसभापति तथा महासमिति सदस्य एवं विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा महासमिति सदस्य केदार कार्की र महासमिति सदस्य निरञ्जन रिजालले हस्ताक्षर गरेका छन् ।
त्यसैगरी मोरङ क्षेत्र नम्बर ३ का महाधिवेशन प्रतिनिधि नगेन्द्र जम्मरकट्टेल र रामहरि कोइराला, क्षेत्र नम्बर ५ का महाधिवेशन प्रतिनिधि नईम आलम तथा पार्वती यादव, क्षेत्र नम्बर ६ का महाधिवेशन प्रतिनिधि सुधीरकुमार अर्याल र देवेन्द्र पोखरेल पनि विज्ञप्तिमा सहभागी छन् ।
पूर्व महाधिवेशन प्रतिनिधि तथा जिल्ला सल्लाहकार देवी भण्डारी, जिल्ला सदस्य सुशील कोइराला, मुसरफ खान र सुमित्रा कोइराला तथा जिल्ला सदस्य अञ्जना अधिकारीले पनि संयुक्त आह्वानमा समर्थन जनाएका छन् ।
यसैगरी मोरङ क्षेत्र नम्बर ६ ‘ख’का सभापति मधुबाबु तिवारी, विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं, मोरङ क्षेत्र नम्बर ६ का सचिव जितेन्द्र गोल्छा, क्षेत्र नम्बर ६ ‘ख’का सचिव विमल राजभण्डारी, मोरङ क्षेत्र नम्बर ६ का प्रदेश सदस्य विकास पराजुली र हरिश्चन्द सहनी विज्ञप्तिमा सहभागी छन् ।
पूर्वसांसद तथा नेपाल महिला संघ मोरङकी सभापति शान्ता पौडेल, विराटनगर–७ का वडा सभापति अशोक विष्ट, विराटनगर–१ का पूर्ववडा सभापति केशव बस्नेत र विराटनगर–११ का क्षेत्रीय प्रतिनिधि सञ्जय नेपालले पनि संयुक्त रूपमा ‘एकताको महाधिवेशन’को पक्षमा आवाज उठाएका छन् ।
कांग्रेसभित्रको आन्तरिक विवादका कारण पार्टी संगठन र नेतृत्वसम्बन्धी समानान्तर दाबी उत्पन्न हुने अवस्था बनेको भन्दै उनीहरूले समयमै संवाद र सहमतिबाट निकास खोज्नुपर्नेमा जोड दिएका छन् ।

