म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर बिक्री गर्ने दुई जना पक्राउ
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित सिद्धिविनायक खाद्य स्टोरबाट म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य सामग्रीमा नयाँ मिति र लेबल राखेर बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले असोज १५ गते सूचनाका आधारमा स्टोरमा अनुगमन गर्दा बारा प्रसौनी गाउँपालिका–१ का ४० वर्षीय बिजेन्द्र साह र पर्सा बिन्दबासिनी गाउँपालिका–२ का ४९ वर्षीय अखिलेस प्रसाद कलवारलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूले म्याद गुज्रिएका तथा मिति उल्लेख नभएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने र लेबलिङ गरी बिक्री वितरण गर्दै आएका थिए।
अनुगमनका क्रममा मिति राख्ने मेसिन, विभिन्न खाद्य सामग्रीका लेबलिङ स्टिकर, म्याद गुज्रिएको काजु, पेस्ता, बदाम, कालो भटमास, मकै, हरियो केराउ, बोरा सिलाउने मेसिन, ल्यापटप तथा प्रिन्टर बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।


