रानीपोखरीमा मृत अवस्थामा भेटिएका पुरुषको शव उद्धार
काठमाडौं । काठमाडौंको रानीपोखरीमा मृत अवस्थामा भेटिएका एक पुरुषको शव प्रहरीले उद्धार गरेको छ।
असोज २८ गते राति काठमाडौं महानगरपालिका–२८ स्थित रानीपोखरीको पानीमा करिब ३५ देखि ४० वर्ष उमेरका पुरुषको शव तैरिरहेको सूचना प्राप्त भएपछि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रबाट उद्धार टोली घटनास्थल पुगेको थियो।
प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको विपद् उद्धार टोली आवश्यक उद्धार सामग्रीसहित खटिएर शव उद्धार गरेको हो।
उद्धार गरिएको शव आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान र मृत्युको कारणबारे भने विवरण खुलाइएको छैन।


