घुम्ने हो दशैंमा ‘भर्जिन’ प्रदेश कर्णाली ? यी हुन सक्छन् उपयुक्त विकल्प

शेरबहादुर थापा/सुर्खेत, ३० असोज । दशैं हरेक नेपालीको आँगनमा आइसकेको छ । हिन्दुहरुको महान पर्व दशैं मनाउन तयारी भइरहेका बेला नेपालकै ‘भर्जिन’ प्रदेशको रुपमा रहेको कर्णाली प्रदेश पर्यटकहरुको पर्खाईमा बसिरहेको छ ।

कर्णाली प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लाका १०१ पर्यटकीय क्षेत्रहरु पहिचान गरी पर्यटन गन्तव्यका रुपमा घोषणा गरिसकेको छ । तीनै पर्यटकीय क्षेत्रमा यहाँहरुको दशैं छैन भने घुम्न आउन सक्नुहुन्छ ।

प्रदेश राजधानी सुर्खेतमै केही प्रसिद्ध पर्यटकीय स्थलहरु छन् । देउती बज्यै मन्दिर, बुलबुले ताल, दोस्रो लुम्बिनीको रुपमा चिनिएको देउती बज्यै, शहिद पार्क, घण्टाघर पार्कलगायतका स्थानहरु सुर्खेतको वीरेन्द्रनगरभित्रकै आकर्षण हुन् । सुर्खेतमै बराहताल, भाइरल रोड, गोठिकाँडा, जुर्बटालगायतका स्थानहरुले पनि सुर्खेतको पर्यटकीय पहिचान दिइरहेका छन् ।

दैलेखको पञ्चकोशी, कालिकोटको पचालझरना, सल्यानको कुपिन्डे दह, रुकुमको स्यार्पुताल, जुम्लाको चन्दननाथ, हुम्लाको हिल्सा, लिमी, डोल्पाको शे फोक्सुण्डो ताल लगायतका पर्यटकीय गन्तव्यहरुले कर्णालीको मात्र होइन मुलुककै पहिचान दिइरहेका छन् । त्यसका साथै कर्णालीका केही मानव निर्मित स्थानहरुले पनि कर्णालीको पर्यटकीय सम्भावना बोकेका छन् ।

तीमध्ये सुर्खेतको सहिद पार्क, गिरी पार्क, दैलेखको गुराँसेमा निर्माण गरिएको भ्यु टावर, दैलेखको जलजलस्थित पेट्रोलियम पदार्थ उत्खनन् स्थल, कालिकोटको पिली क्षेत्र (युद्ध पर्यटकीय स्थल) राष्ट्रगुरु योगीनाथको जन्मस्थान नरहरीनाथको लालु, कालिकोटको त्रिवेणीपाटन, रुडुबन्चुलगायतका क्षेत्रहरु कर्णालीका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरु हुन् । यहाँ कर्णाली प्रदेशका केहि महत्वपूर्ण पर्यटकीय स्थलहरुको बारेमा संक्षिप्त रुपमा जानकारी दिन खोजिएको छ ।

काँक्रेविहार

सुर्खेतको काँक्रेविहार दोस्रो लुम्बिनीका रुपमा परिचित छ । तेह्रौ शताब्दीतिर काँक्रेविहार निर्माणको अनुमान गरिए पनि यसको आधिकारिक तथ्य भने भेटिएको छैन । 

बौद्ध धर्मको व्यापकतालाई रोक्न शंकराचार्य र उनका शिष्य अनुयायीहरुले बौद्धविहार भत्काई शिव मन्दिर निर्माण गराएको र यही सन्दर्भमा लाटिकोइली शिव मन्दिरको स्थापना गरिएको हो भन्ने पनि अनुमान गरिन्छ । यसको निर्माण गर्नेमा पाण्डव, बौद्ध लामा समेतलाई लिने गरिएको छ । काँक्रेविहारको भग्नावशेषलाई हेर्दा उत्कृष्ट शिल्पकारी कारिगरले विभिन्न आकारमा रहेका ढुङ्गाहरुमा विभिन्न प्रकारका बुट्टाहरु कुदेको भग्नावशेष पाइन्छ । प्रायः जंगलभरी यस्ता बुट्टाहरु कुदिएका ढुङ्गाहरु भेटिन्छन् ।

देउती बज्यै

देउती बज्यै कर्णाली प्रदेशकै मुख्य धार्मिक पर्यटकीयस्थलका रुपमा चिनिएका छ । सुर्खेत पुग्ने वित्तिकै गंगामाला देउती बज्यैको मन्दिरको दर्शन गर्न पाइन्छ ।
रत्न राजमार्गको नेपालगन्ज–सुर्खेत खण्डको पिपिरादेखि दुई सय मिटर दक्षिणमा अवस्थित यो मन्दिर हिन्दु धर्मावम्वीहरुको प्रमूख आकर्षण पनि हो । गंगामाला देउती बज्यै मन्दिरको इतिहास सुर्खेतमा बसोबास गरिरहेका पुरानो राजी जातिसँग जोडिएको छ । 

बुलबुले ताल

सुर्खेतको बुलबुले ताल कर्णाली प्रदेशकै प्रमूख पर्यटकीय आकर्षण हो । कर्णाली प्रदेशको स्थायी राजधानी भएसँगै बुलबुले तालमा आउने पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको छ । जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएर नै यसको नामाकरण बुलबुले ताल गरिएको हो । ३० बिघा क्षेत्रफलमा फैलिएको बुलबुलेल ताल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य हो । बुलबुलेमा गार्डेन, शान्ति पार्क, पिकनिक स्थलसहित एउटा पछिलले समय बोटिङ गर्न पाइएने भए पछि दैनिक पर्यटकहरुको संख्या बढी रहेको छ । 

ज्वाला र पञ्चकोशी

सुर्खेतबाट कर्णालीको याात्रामा निस्कने जो कोहीका लागि सुर्खेतको छिमेकी जिल्ला दैलेखमा रहेको श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पादुका, कोटिला पञ्चकोशी क्षेत्र पर्यटकका लागि अर्को रोजाई हुन् । पञ्चकोशीको शीरस्थान, नाभिस्थानमा निरन्तर प्रज्वलित ज्वाला बलिरहेको दृश्य हेर्न तथा यहाँ तीर्थ गर्न नेपालीका साथै भारतीयहरु पनि आउँछन् । श्रीस्थानको ज्वाला क्षेत्र अन्तर्गत १०८ शक्तिपीठ पर्दछन् ।

पचाल झरना

कालिकोटको पचाल झरना गाउँपालिकाको खार्दुमा रहेको ‘पचाल झरना’ उत्कृष्ट नयाँ पर्यटकीय गन्तव्यमा पर्छ । ३ सय ८१ मिटर लम्बाइ भएको यो एसियाकै सबैभन्दा अग्लो झरनाका रूपमा दाबी गरिएको छ । तर हाल ३ सय ६५ मिटर अग्लो तेह्रथुमस्थित ह्यातुङ झरना नेपालकै सबैभन्दा अग्लो झरनाको रुपमा परिचित छ । कालिकोट सदरमुकामदेखि करिब १६ घन्टाको पैदल यात्रापछि पचाल झरनामा पुग्न सकिन्छ ।

कुपिन्डे दह

सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको सेजुवाल टाकुरा, मार्के, माझकाँडा, धाजी पीपल र कजेरी बस्तीको  बीचमा रहेको कुपिण्डे दह प्राकृतिक रूपले सुन्दर मानिन्छ ।

कुपिण्डे दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्छ । हरियाली रुख विरुवा, सुन्दरबस्ती सल्यानी संस्कृतिको जनजीवनले जो कोहीलाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महसुस हुन्छ । दहको किनारमा बराहको मन्दिर छ । डुङ्गा सयर गर्ने, मनोरम वातावरण र हिमश्रृङ्खलाको दृश्यावलोकनमा ग्रामीण पर्यटक रमाउन थालेका छन् ।

शे–फोक्सुण्डो ताल

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्छ फोक्सुन्डो ताल । छिनमा नीलो, छिनमै कालो र छिनमै सिन्दुरे बन्छ ताल । काञ्जिरोवा हिमालको काखमा अवस्थित शे–फोक्सुण्डो गाउँपालिका–८, डोल्पामा पर्ने ताल (३,६०० मिटर)को क्षेत्रफल ४.९५ वर्ग किमी छ । यसको अधिकतम लम्बाइ ५.९३ किमि र अधिकतम चौंडाइ १.८० किमि छ भने गहिराइ १४५ मिटर  । ताल २३ सेप्टेम्बर २००७ मा रामसार साइटमा सूचीकृत भएको छ ।

लिमी उपत्यका

अझैपनि राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको जिल्ला हो, हुम्ला । जिल्ला सदरमुकाम सिमिकोटबाट करिब एक हप्ताको पदमार्गपछि लिमी उपत्यका पुग्न सकिन्छ । ११औँ शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका साना–ठूला गुम्बा यहाँका मुख्य आकर्षणका केन्द्र हुन् । खस साम्राज्यको आधार खण्ड र तिब्बती संस्कृति यहाँका अन्य आकर्षण हुन् ।

स्यार्पु ताल

रुकुमको स्यार्पु ताल बर्षातको समयमा एक पटक अवलोकन गर्नै पर्ने ताल हो । मुसिकोटबाट रातामाटा, गाराघाट, छिन्खेत हुँदै स्यार्पु पुग्ने एउटा बाटो छ भने मुसिकोटबाट सल्ले, कैलदेउ, गिल्बाङ हुँदै पुग्ने अर्काे बाटो छ । चारैतिर हरियाली गाँउ बिचमा सुन्दर तालमा डुंगा शयर गर्नुको मज्जा बेग्लै छ । रुकुम जिल्लालाई पर्यटकीय दृष्टीकोणले अग्रपंतिमा लिनको लागी यो स्यार्पु तालको उत्तिकै महत्व छ ।

रुकुम सदरमुकामदेखि १ दिनको पैदलदुरीमा पर्ने बाँफिकोटमा अवस्थित स्यार्पु तालमा रमाउन पुग्ने पर्यटकका लागी होमस्टे पनि सञ्चालनमा छन् । तालमा ¥याफ्टिङ बोट सञ्चालनमा ल्याइएको छ । ८ देखि १२ जनासम्मको क्षमता रहेको रबरको आधुनिक डुंगा सञ्चालनमा छन् ।

रारा ताल

रारा नेपालको भर्जिन पदमार्गसहितको गन्तव्य हो । साहसिक यात्राको गन्तव्य पनि हो । रारा ताल बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी देखिन्छ । तालको वरिपरि मनोरम सल्लाघारी छ । साँझ तालको वरिवरि पैदल यात्रा गर्न सकिन्छ । प्रकृतिसँग विचरण गर्न मिल्छ । चराचुरुङ्गीको चिरबिरले मन प्रफुल्लित बनाउँछ । तालमा बोटिङ गर्न मिल्छ । तालको छेउमा टेन्टमा रात बिताएर आनन्द लिन सकिन्छ ।

चन्दननाथ मन्दिर

कर्णालीको प्रमुख धार्मिक पर्यटकीयस्थल चदननाथ भैरवनाथ मन्दिर पनि एक हो । जुम्ला खलंगाको बीचमा रहेको चन्दननाथ मन्दिरमा एक वर्षमा ५२ हप्ता हुने भएकोले ५२ हाते लिंगो खडा गर्नुपर्ने प्रचलन छ । लिंगोलाई रातो, सेतो, रङ्गी विरङ्गी कपडाले ढाकिन्छ । लिंगोको टुप्पोमा पताका लगाएर मन्दिरमा ठड्याइन्छ ।

ठड्याउने क्रममा लिंगो भााँचियो वा खण्डित भयो भने पूरै देशमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ । देवताको जयघोष र पूजा आरती, भजनकिर्तनका साथ लिंगो फेर्ने चलन रहेको छ । चन्दननाथ मन्दिरसँगै जोडिएको बटुक भैरवनाथ मन्दिरमा पनि ४८ हातको लिंगो र ४८ हातकै ध्वजा र नेजा राखिएको छ । ६७० सालमा चढाएको लक्ष्मी नारायणको मूर्तिमा लेखिएको मिति हेर्दा २०७९ सालको लिंगो फेर्ने कार्य ३ हजार पटक भएको देखिन्छ । 

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖