साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कारबाट डीएसपी मैनाली र वरिष्ठ सई कार्की पुरस्कृत
विराटनगर, असोज ३० । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा प्रदान गरिने एक लाख रुपैयाँ राशिको ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’बाट प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमारप्रसाद मैनाली र प्रहरी वरिष्ठ नायव निरीक्षक धर्मेन्द्र कार्की पुरस्कृत भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले वर्षभरि उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीमध्येबाट सर्वोत्कृष्ट छनोट गरी उनीहरूलाई पुरस्कृत गरेको हो । मैनाली जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख हुन् भने कार्की जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत छन् ।
डीएसपी मैनालीले संखुवासभा जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा प्रहरी सेवालाई प्रभावकारी, पहुँचयोग्य र जनमुखी बनाउन उल्लेखनीय योगदान पुर्याएका छन् । साथै, कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी कार्यालयमध्ये संखुवासभा सर्वोत्कृष्ट हुन सफल भएको जनाइएको छ ।
त्यस्तै, वरिष्ठ नायव निरीक्षक कार्कीले सुनसरीको रामधुनी नगरपालिका–२ का दिनेशकुमार चौधरीको हत्यामा संलग्न सात जनालाई पक्राउ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
प्रहरीका अनुसार उक्त घटनामा संलग्न रहेको आरोपमा रामधुनी–१ का ४३ वर्षीय राजेश भन्ने राजकिशोर साह, ४० वर्षीय नन्दकिशोर साह, भोक्राहा नरसिंह–५ का ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगञ्ज–४ का ३७ वर्षीय गियास मन्सुरी, देवानगञ्ज–५ का २५ वर्षीय मिथलेश यादव, सप्तरीको राजविराज नगरपालिका–१६ का २८ वर्षीय अंकित साह र राजविराज–९ का २८ वर्षीय प्रिन्सकुमार दास पक्राउ परेका थिए ।
उनीहरूले सम्पादन गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले दुवै प्रहरी अधिकृतलाई पुरस्कार प्रदान गरेको हो ।
पुरस्कृत प्रहरी अधिकृतहरूलाई पुरस्कार अक्षयकोषका संस्थापक तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्राध्यापक डा. विक्रमप्रसाद श्रेष्ठले जनही ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
सोही कार्यक्रममा पुरस्कार अक्षयकोषका संस्थापक डा. श्रेष्ठलाई प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।


