सुनसरीको इटहरीमा लागूऔषध ट्याब्लेट,क्याप्सुल र दुईवटा मोटरसाइकल सहित दुई जना पक्राउ
सुनसरी । सुनसरीको इटहरीमा लागूऔषध ट्याब्लेट र क्याप्सुलसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले उनीहरू सवार दुईवटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ असोज १९ गते साँझ ५ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी, इलाका प्रहरी कार्यालय इटहरी र अस्थायी प्रहरी चौकी हलगडाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका–१ हलगडा चोकमा इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–०५३ प ५१ नम्बरको मोटरसाइकलमा सवार मोरङको सुन्दरहरैँचा नगरपालिका–५ निवासी ३१ वर्षीय पर्शुराम गुरुङको साथबाट ट्रामाडोल २०० क्याप्सुल र डाइसाइक्लोमिन २०० ट्याब्लेट बरामद गरिएको छ ।
त्यस्तै, इटहरी उपमहानगरपालिका–२ बरगाछी चोकस्थित भित्री सडकखण्डमा बा.२३ प २४७३ नम्बरको मोटरसाइकलमा सवार इटहरी–२ निवासी २८ वर्षीय उज्वल बुढाथोकीको साथबाट ट्रामाडोल ३० क्याप्सुल र डाइसाइक्लोमिन ३० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।
दुवै जनाको साथबाट गरी ट्रामाडोल २३० क्याप्सुल र डाइसाइक्लोमिन २३० ट्याब्लेट बरामद गरिएको छ ।
पक्राउ परेका दुवै जनालाई लागूऔषध र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय इटहरीमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


