लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
सिन्धुली, मंसिर १ । सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सोमबार राति करिब १ बजे सामान्य विवादका क्रममा ४२ वर्षीय मनोज कार्कीले आफ्नी ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीको टाउकोमा ढुङ्गाको लोहोरो प्रहार गरेका थिए । प्रहारबाट गम्भीर घाइते भएकी सानुकुमारीको मृत्यु भएको हो ।
घटनाबारे राति १ः१५ बजे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनामा संलग्न मनोज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

