दुई मेयरको कार्यकाल बित्दा पनि व्यवस्थित भएन कटहरियाको विवाह भवन, करोडौँको लगानी प्रयोगविहीन
सञ्जय मिश्रा/रौतहट, ३ मंसिर। रौतहटको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने कटहरिया बजारस्थित विवाह भवन दुई जना नगरप्रमुखको कार्यकाल बितिसक्दा पनि व्यवस्थित रूपमा सञ्चालनमा आउन सकेको छैन। विवाह तथा अन्य सामाजिक कार्यक्रमलाई सहज र सुलभ बनाउने उद्देश्यले करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको भवन जनप्रतिनिधिको उदासीनताका कारण प्रभावकारी उपयोगमा आउन नसक्दा सरकारी लगानीको प्रतिफल नागरिकले पाउन सकेका छैनन्।
तत्कालीन सहरी विकासमन्त्री प्रभु साहको पहलमा करिब चार करोड रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनको मुख्य उद्देश्य स्थानीय नागरिकलाई छोराछोरीको विवाहका लागि गौर, गरुडा, चन्द्रनिगाहपुर तथा वीरगञ्जका महँगा होटल र पार्टी प्यालेस धाउनुपर्ने बाध्यताबाट मुक्त गराउनु थियो। तर निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि भवनले आफ्नो उद्देश्यअनुसार सेवा दिन सकेको छैन।
कटहरिया नगरपालिकाका तत्कालीन नगरप्रमुख सियाराम कुशवाहाको कार्यकालमा भवन निर्माण सम्पन्न भएको थियो। तर निर्माणपछि यसको सञ्चालन, व्यवस्थापन र संरक्षणका लागि आवश्यक पहल हुन नसक्दा भवन व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना अघि बढ्न सकेन। सञ्चालन समिति गठनदेखि आवश्यक पूर्वाधार थप्नेसम्मका काम अधुरै रहे।
भवनमा व्यवस्थित शौचालय, स्नानघर, भान्छाकोठा, साधारण तथा वातानुकूलित कोठालगायतका आधारभूत सुविधा पर्याप्त छैनन्। विवाह समारोहमा सहभागी हुने पाहुनाका लागि आवश्यक सुविधा र पार्किङको समेत उचित व्यवस्था हुन सकेको छैन। सभाहलको ध्वनि व्यवस्थापन आधुनिक नहुँदा कार्यक्रमका क्रममा आवाज घन्किने र बोलेको कुरा स्पष्ट नसुनिने समस्या रहेको बताइन्छ।
२०७९ सालको निर्वाचनबाट नगरप्रमुख बनेका अजय प्रकाश जैसवालको कार्यकाल पनि अन्तिम चरणमा पुग्न लाग्दा विवाह भवनको अवस्था भने फेरिएको छैन। भवनलाई व्यवस्थित गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने विषय उनको प्राथमिकतामा पर्न सकेन। तत्कालीन प्रदेशसभा सदस्य कुन्दन कुशवाहाको पहलमा करिब २२ लाख रुपैयाँका जिम सामग्री खरिद भएपछि केही थप सामग्री जुटाएर जिम सञ्चालनमा ल्याइए पनि विवाह भवनको समग्र व्यवस्थापनमा अपेक्षित प्रगति हुन सकेन।
भवन व्यवस्थित नहुँदा कटहरिया नगरपालिका र आसपासका क्षेत्रका नागरिकले विवाह तथा अन्य समारोहका लागि अझै बाहिरका होटल र पार्टी प्यालेसमा ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता रहेको कटहरिया–५ का सुनचाँदी व्यवसायी जयमंगल साह बताउँछन्।
उनका अनुसार चार करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको भवनलाई सामान्य व्यवस्थापन, आवश्यक सुविधा थप र प्रभावकारी सञ्चालन प्रणालीमार्फत उपयोगमा ल्याउन सकिने थियो। यसो हुन सके स्थानीय दर्जनौँ परिवारले कम खर्चमा आफ्ना छोराछोरीको विवाह तथा अन्य कार्यक्रम आयोजना गर्न पाउने थिए। साथै स्थानीय स्तरमै आर्थिक गतिविधि बढ्ने र बाहिरिने रकमसमेत जोगिने उनको भनाइ छ।
कटहरिया–४ का वडाध्यक्ष तथा आगामी निर्वाचनमा नगरप्रमुखका आकांक्षी चन्दन कुशवाहाले पनि नगर नेतृत्वको विकास प्राथमिकतामाथि प्रश्न उठाएका छन्। आर्थिक लाभ हुने योजनातर्फ बढी ध्यान दिने प्रवृत्तिका कारण नागरिकको प्रत्यक्ष आवश्यकतासँग जोडिएको विवाह भवन ओझेलमा परेको उनको गुनासो छ।
विवाह भवन व्यवस्थित हुन सके विवाह समारोहदेखि सभा, गोष्ठी तथा अन्य सामाजिक कार्यक्रम सञ्चालन गर्न सकिने कुशवाहाको भनाइ छ।
निर्माणभन्दा व्यवस्थापन ठूलो चुनौती
कटहरियाको विवाह भवनको अवस्था हेर्दा स्थानीय तहमा विकास निर्माणका योजना सम्पन्न गर्नु मात्रै उपलब्धि होइन भन्ने स्पष्ट हुन्छ। सार्वजनिक बजेटबाट संरचना निर्माण गरिएपछि त्यसको सञ्चालन, संरक्षण र नागरिकले लाभ लिन सक्ने वातावरण बनाउनु पनि जनप्रतिनिधिको उत्तिकै महत्त्वपूर्ण जिम्मेवारी हो।
करिब चार करोड रुपैयाँ खर्चेर बनाइएको भवनमा आवश्यक सुविधा थप्ने, सञ्चालन समिति गठन गर्ने, शुल्क निर्धारण गर्ने र नियमित मर्मतसम्भारको व्यवस्था मिलाउने हो भने यो नगरपालिकाका लागि आम्दानीको स्रोतसमेत बन्न सक्छ। स्थानीय नागरिकलाई सस्तोमा सेवा उपलब्ध गराउँदै रोजगारी र आर्थिक गतिविधि बढाउने सम्भावना पनि उत्तिकै छ।
तर दुई जनप्रतिनिधिको कार्यकाल बितिसक्दा पनि भवनको अवस्था परिवर्तन नहुनुले विकास योजनाको प्राथमिकता, कार्यान्वयनपछिको अनुगमन र सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ।
अब बन्ने नगर नेतृत्वले पनि यसलाई चुनावी प्रतिबद्धताको विषय मात्र बनाउने हो वा आवश्यक बजेट र स्पष्ट कार्ययोजनासहित सञ्चालनमा ल्याउने हो भन्ने प्रश्न स्थानीय नागरिकमाझ उठ्न थालेको छ। करोडौँ खर्चेर बनाइएको संरचना प्रयोगविहीन राख्नु विकास होइन, बरु सार्वजनिक लगानीको उचित उपयोग गर्न नसक्नु हो।

