बेतियामा दिनदहाडै ४० करोडको सुनचाँदी लुटपाट, तीनवटा मोटरसाइकलमा आएका लुटेराले २० मिनेटसम्म मच्चाए आतंक

 

सञ्जय मिश्रा/

रौतहट ३ मंसिर, । भारतको बिहारस्थित पश्चिम चम्पारण जिल्लाको बेतियामा दिनदहाडै हतियारधारी लुटेराहरूले करोडौँ रुपैयाँ मूल्यका सुन, चाँदी तथा हिराका गरगहना लुटेका छन्। व्यस्त बजार क्षेत्रको सुप्रिया रोडस्थित ‘सेनको गोल्ड एन्ड डायमन्ड्स’ शोरुममा बुधबार दिउँसो भएको लुटपाट घटनाको अनुसन्धान गर्न प्रहरीले विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरेको छ।

प्रहरीका अनुसार दिउँसो करिब १२ः३० बजे तीनवटा मोटरसाइकलमा आएका आठ जना हतियारधारी व्यक्ति शोरुमभित्र प्रवेश गरेका थिए। ग्राहक बनेर आएका उनीहरूले केही समयमै हतियार देखाउँदै कर्मचारी र ग्राहकलाई नियन्त्रणमा लिएर लुटपाट सुरु गरेका थिए।

करिब २० मिनेटसम्म शोरुमभित्र आतंक मच्चाएका लुटेराहरूले काउन्टरमा राखिएका बहुमूल्य गरगहना झोलामा भरेर फरार भएका थिए। उनीहरूले दुई जना ग्राहकका मोबाइल फोन फुटाउनुका साथै सीसीटीभी क्यामेरामा समेत क्षति पुर्‍याएका थिए।

लुटपाटको प्रतिकार गर्ने क्रममा एक सुरक्षा गार्ड घाइते भएका छन्। प्रहरीका अनुसार उनको शरीरमा गोली लागेको छैन। लुटेरासँग भएको हातपातका क्रममा उनलाई चोट लागेको हो।

शोरुम सञ्चालक ब्रजेश कुशवाहाले करिब ३५ करोड भारतीय रुपैयाँ बराबरका गरगहना लुटिएको दाबी गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार प्रारम्भिक अनुमानमा लुटिएका गरगहनाको मूल्य ३० देखि ४० करोड भारतीय रुपैयाँसम्म हुन सक्ने बताइएको छ। यद्यपि, शोरुम व्यवस्थापनले स्टक मिलान गरिरहेकाले वास्तविक क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ।

घटनापछि चम्पारण रेन्जका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरकिशोर राय, प्रहरी अधीक्षक कुमार गौतम, बेतिया सदर एसडीपीओ–१ अजित कुमारलगायतका उच्च प्रहरी अधिकारी घटनास्थल पुगेका थिए।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरीले एसआईटी गठन गरेर अनुसन्धान अघि बढाएको छ। घटनास्थलमा फरेन्सिक विशेषज्ञ र तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी प्रमाण संकलन गरिएको छ। शोरुम तथा आसपासका क्षेत्रका सीसीटीभी फुटेज जाँच गर्नुका साथै जिल्लाभर सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले शंकास्पद व्यक्तिहरूको खोजीका लागि विभिन्न स्थानमा छापा मारिरहेको छ भने सडक तथा सम्भावित नाकाहरूमा सवारीसाधन जाँचसमेत तीव्र बनाएको छ।

यसैबीच, बेतिया विधानसभा क्षेत्रकी विधायक तथा बिहारकी पूर्वउपमुख्यमन्त्री रेणु देवीले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अपराधमा संलग्न कसैलाई पनि नछाडिने बताएकी छन्।

व्यस्त बजार र प्रहरीको पहुँच क्षेत्रभित्रै भएको यस घटनाले बेतियाका व्यवसायी तथा स्थानीय बासिन्दामा सुरक्षा चिन्ता बढाएको छ। दिनदहाडै आठ जना हतियारधारीले शोरुममा प्रवेश गरी करोडौँका गरगहना लुटेर फरार हुनुले स्थानीय सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान, लुटिएका गरगहनाको बरामदगी र उनीहरूलाई पक्राउ गर्नु अहिले प्रहरीका लागि प्रमुख चुनौती बनेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖