धनकुटामा जुवा खेलिरहेको अवस्थामा २० जना पक्राउ, ३ लाख ८८ हजार रुपैयाँ बरामद
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारमा जुवा खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मंसिर ४ गते राति करिब २ः१५ बजे महालक्ष्मी नगरपालिका–४ दमारस्थित तेजकुमार श्रेष्ठको घरमा जुवा खेलिरहेको विशेष सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा ठूलो कौडा १६ थान र खालबाट नगद ५४ हजार रुपैयाँ बरामद गरेको छ । साथै पक्राउ परेका २० जनाको साथबाट ३ लाख ३४ हजार ९७० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद भएको रकम खालबाट प्राप्त ५४ हजार र पक्राउ परेका व्यक्तिहरूको साथबाट प्राप्त ३ लाख ३४ हजार ९७० गरी जम्मा ३ लाख ८८ हजार ९७० रुपैयाँ रहेको छ ।
पक्राउ पर्नेहरूमा घरधनी महालक्ष्मी नगरपालिका–४ दमारका ४८ वर्षीय तेजकुमार श्रेष्ठ, सोही स्थानका ३९ वर्षीय भरतराज कुँवर, ५८ वर्षीय तोर्णबहादुर बस्नेत, ३० वर्षीय अशोक पौडेल र यामकुमार ठकुरी रहेका छन् ।
त्यस्तै भोजपुरका ५९ वर्षीय शान्तबहादुर राई, ५४ वर्षीय भरतमणि खड्का र ४७ वर्षीय धर्मराज राई, संखुवासभाका २६ वर्षीय मेघराज लिम्बु र २४ वर्षीय भक्तबहादुर दर्जी, सुनसरीका ३१ वर्षीय गनपैतकुमार खत्वे तथा दोलखाका २६ वर्षीय सविन थामी पनि पक्राउ परेका छन् ।
यसैगरी महालक्ष्मी नगरपालिका–५ का ३७ वर्षीय दिनेश कार्की, ३३ वर्षीय अमृतकुमार पौडेल, ४४ वर्षीय हेमकुमार अधिकारी, ४४ वर्षीय यज्ञराज भारती र ४० वर्षीय रामजी बुढाथोकी पक्राउ परेका छन् ।
त्यस्तै महालक्ष्मी नगरपालिका–६ का ३८ वर्षीय गणेश भण्डारी र २६ वर्षीय हरिकुमार जिमी तथा पाख्रिबास नगरपालिका–४ का ३८ वर्षीय सुरेन्द्रप्रसाद बजगाईं पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई बिहान ५ः३० बजे जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

