आज विश्व बाल दिवस, बालबालिकाकाे अधिकारका बारेमा सचेतना जगाइदैँ
काठमाडाैं, ४ मंसिर । आज विश्व बाल दिवस हाे । बालबालिकाको अधिकारको संरक्षण, उनीहरूको कल्याण र विश्वभरिका बालबालिकामाझ आपसी सद्भाव र चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष नोभेम्बर २० का दिन मनाइन्छ।विश्व बाल दिवस २०२६ को आधिकारिक नारा "मेरो दिन, मेरा अधिकार, मेरो भविष्य" रहेकाे छ।
संयुक्त राष्ट्रसंघ महासभाले सन् १९५४ डिसेम्बर १४ मा हरेक वर्ष ‘विश्व बाल दिवस’ मनाउने निर्णय गरेको थियो। सुरुमा यो दिवस नोभेम्बर २० का दिन विभिन्न देशमा मनाउन थालिएको थियो। संयुक्त राष्ट्रसंघले सन् १९५९ नोभेम्बर २० का दिन बाल अधिकारको घोषणापत्र जारी गरेको थियो भने सन् १९८९ नोभेम्बर २० कै दिन ऐतिहासिक ‘बाल अधिकारसम्बन्धी महासन्धि’ पारित गरेको थियो। यही ऐतिहासिक दिनको स्मरणस्वरूप पछि नोभेम्बर २० लाई नै विश्व बाल दिवसको रूपमा आधिकारिकता दिइयो।
संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धि अन्तर्राष्ट्रिय रूपमा सबैभन्दा बढी देशले अनुमोदन गरेको मानव अधिकारसम्बन्धी दस्तावेज हो। यसले बालबालिकाका लागि मुख्यतया चारवटा आधारभूत अधिकारहरूको व्यवस्था गरेको छ । जसअनुसार बाँच्न पाउने अधिकार, जसमा जन्मसिद्ध अधिकार, स्वास्थ्य सेवा, पौष्टिक आहार र उचित जीवनयापन रहेकाे छ, दाेस्राे विकासको अधिकार, जसमा शिक्षा, खेलकुद, मनोरञ्जन र मानसिक तथा बौद्धिक विकासका अवसरहरू, तेस्राे, संरक्षणको अधिकार, जस अन्तर्गत सबै प्रकारका हिंसा, शोषण, दुर्व्यवहार, बाल श्रम र बाल विवाहबाट सुरक्षा रहनु रहेकाे छ भने चाैथाें सहभागिताको अधिकारमा बालबालिकाले आफ्ना विचार, भावना व्यक्त गर्न पाउने स्वतन्त्रता र उनीहरूलाई असर पार्ने निर्णयहरूमा राय राख्न पाउने अधिकार उल्लेख गरिएकाे छ ।
बालबालिकाको अधिकार र सुरक्षाको प्रत्याभूति गराउन सरकार, समाज र अभिभावकहरूलाई सचेत गराउनु, हरेक बालबालिकालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य र सुरक्षित वातावरण उपलब्ध गराउनु, बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद र बाल श्रमको अन्त्यका लागि विश्वव्यापी रूपमा ऐक्यबद्धता जनाउनु र बालबालिकालाई उनीहरूको भविष्य निर्माणका लागि समान अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुलगायत यसका उदेश्य रहेका छन ।
नेपालले पनि सन् १९९० सेप्टेम्बर १४ मा बाल अधिकारसम्बन्धी महासन्धि अनुमोदन गरिसकेको छ। नेपालको संविधान र बालबालिकासम्बन्धी ऐनले बालबालिकाका अधिकारहरूलाई कानुनी रूपमै सुनिश्चित गरेको छ। नेपालमा पनि सरकारी तथा गैरसरकारी संस्थाहरू, विद्यालयहरू र विभिन्न बाल क्लबहरूको सहभागितामा विभिन्न सचेतनामूलक कार्यक्रम, वक्तृत्वकला, प्रभातफेरी तथा बाल अधिकारसम्बन्धी अन्तरक्रिया आयोजना गरी यो दिवस भव्य रूपमा मनाइने गरिन्छ।

