मोरङको लेटाङमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ
मोरङ । मोरङको लेटाङ क्षेत्रमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार गत कात्तिक २८ गते साँझ लेटाङ क्षेत्रमा आयोजित कार्यक्रम हेरेर घर फर्किने क्रममा बालिकामाथि जबरजस्ती करणी भएको आरोप छ। घटनाबारे मंसिर ३ गते इलाका प्रहरी कार्यालय लेटाङमा जाहेरी प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
सूक्ष्म अनुसन्धानपछि घटनामा संलग्न रहेको आरोपमा लेटाङ नगरपालिका–६ निवासी २१ वर्षीय विकास भनिने भुवानी प्रसाद लम्साललाई पहिचान गरी मंसिर ५ गते आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी घटनापछि फरार रहेको बताइएको छ।
पक्राउ परेका लम्सालमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय लेटाङले थप अनुसन्धान गरिरहेको छ।
