प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आज दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उपसंयोजक विनय शाक्य रहेका छन् ।
उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसहित भ्रमण टोलीमा कुल ३५ जना सहभागी छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार मंसिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ । आजै प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
दुई देशबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ । भ्रमणका अवसरमा सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ ।
त्यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिने जनाइएको छ ।
प्रधानमन्त्री शाहले सोमबार राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम रहेको छ ।
भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्कने तालिका रहेको छ । भ्रमण टोली फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमार्फत भ्रमणबारे जानकारी दिने कार्यक्रम रहेको छ ।
