झुम्का कारागारबाट फरार भएका जबर्जस्ती करणी मुद्दाका प्रतिवादी १५ महिनापछि पक्राउ
सुनसरी । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका जबर्जस्ती करणी मुद्दाका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका–१ निवासी ३० वर्षीय भरतलाल मेहता रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट खटिएको प्रहरी टोलीले २०८३ मंसिर ६ गते बिहान ८:३० बजे रामधुनी नगरपालिका–५ स्थित शिवचोकबाट उनलाई पक्राउ गरेको हो।
सुनसरी जिल्ला अदालतको २०८१ असार ३० गतेको फैसलाअनुसार जबर्जस्ती करणी मुद्दामा मेहतालाई १० वर्ष कैद सजाय तोकिएको थियो। उनले ५ वर्ष ३ महिना कैद भुक्तान गरिसकेका थिए।
तर, २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएपछि उनको ४ वर्ष ९ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको थियो।
प्रहरीले पक्राउ परेका मेहतालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको र पुनः झुम्का कारागार पठाउने तयारी भइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले उक्त जानकारी दिएका हुन्।
