स्वेच्छाचारी सरकार नसुध्रिए, नागरिक सडकमा उत्रने र निरंकुश सरकार ढाल्ने : पूर्व मुख्यमन्त्री राई
धनकुटा, मंसिर १३ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति धनकुटाले राष्ट्रिय जागरण अभियान तथा प्रशिक्षण कार्यक्रम गरेको छ।
नेकपाका प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री क.राजेन्द्र राइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सह-ईन्चार्च परशुराम बस्नेत, जिल्ला ईन्चार्ज धर्मराज पौडेल, केन्द्रीय सदस्यहरु बंगला राई, बिष्णुमाया कन्दङवा, कृष्णराम मगर लगायत प्रदेश तथा जिल्ला र पलिकाका पदाधिकारी सदस्यहरूको उपस्थिति रहेको थियो।
प्रमुख अथिति पूर्व मुख्यमन्त्री राइले “देशमा महंगी, वेरोजगार बढ्दो छ, सुकुम्बासी समस्या, प्रेसमाथि धरपकड, नागरिक माथि डरत्रास, भोटेकोशी बाढीको विपतमा समयमै सरकारी उपस्थितिको अभावले सरकारको गतिविधि र कार्यशैलीमा प्रश्न उठाएको छ। सरकार काम कारवाहीमा जिम्मेवार र जवाफदेही हुन सकेन, लामो संघर्ष र त्यागले आएको संविधानले संस्थागत गरेको समावेशी, समानुपातिक प्रतिनिधित्व र समृद्ध अर्थतन्त्रको विकासमा प्रतिबद्ध छैन। अतः जनताको संवैधानिक अधिकार रक्षा र संरक्षणको लागि बिचौलिया र माफियाले चलाएको निरंकुशता तर्फ उन्मूख सरकारलाई खबरदारी र निगरानी गर्न आवश्यक छ, यदि तथाकथित सरकारले दूई तिहाईको घमण्ड नछोडे जनता नै सडकमा उत्रने र नागरिक आन्दोलनको ज्वारभाटाले सरकारले घुँडा टेक्ने अबस्था आउने भनी चेतावनी दिएका छन्।
जिल्ला संयोजक कुसुम श्रेष्ठ जुलीले गर्नु भएको जागरण अभियान तथा प्रशिक्षण कार्यक्रमको स्वागत मन्तव्य ईश्वर ओझाले र संचालन ओम निरौलाले गर्नू भएको थियो भने जिल्ला ईन्चार्ज धर्मराज पौडेलले कार्यक्रमको बारेमा सम्क्षिप्त जानकारी प्रस्तुत गर्नू भएको थियो।
नेकपाको राष्ट्रिय जागरण अभियानले पार्टी र जनसंगठनले प्रदेश र स्थानीय तहमा बैठक, भेला, प्रशिक्षण गरी पार्टीलाई रूपान्तरणका लागि संगठनको बिस्तार र सुदृढीकरण गर्न, सदस्यता नविकरण र अध्यावधिक गर्न, संगठनात्मक समायोजन, कार्यविभाजन एवं पार्टी एकताको बाँकी काम पूरा गर्ने लक्ष्य राखेको छ।
विशेष गरी किसान, मजदुर, युवा, बिद्यार्थी, उत्पिडित र बहिष्कृत नागरिक माझ जान, जनताको समस्या, गुनासा, सुझाव सुन्न संकलन गर्न, आलोचना स्वीकार गरी कमजोरी सच्याउन र आगामी दिनमा जनताको बिश्वास जित्न मंसिर २५ गते सम्म जागरण अभियान सन्चालन गर्ने भन्ने पार्टीको योजना रहेको अनुरुप धनकुटामा राष्ट्रिय जागरण अभियान र प्रशिक्षण कार्यक्रम गरिएको हो भनी नेकपा प्रदेश सदस्य, महालक्ष्मी नगर सह-इन्चार्ज सानु कार्की बस्नेत “क्रान्तिटिका” ले बताउनुभयो।
उहाँले स्थानीय तह (गाउँपालिका, नगरपालिका वा वडा) मा आगामी चुनाव लड्ने वा प्रतिनिधित्व गर्ने सम्भावित उम्मेदवारको पहिचान र छनौट गर्न क्यानिडेट मञ्च (Candidate Club) का लागि समेत जागरण अभियानले सहयोग पुग्छ। त्यसैगरी सरकारको अन्याय, विभेद, बेथिति, असुरक्षा र जनविरोधी स्वेच्छाचारी कार्यशैली विरूद्ध जागरण अभियानले अन्य राजनीतिक दल, नागरिक समाज, सन्चारमाध्यम, निजी र सार्वजनिक निकाय समेत संगको समन्वय र सहकार्यको लागि आधार तय गर्न सकिनेछ भनी बताउनुभयो।
