लोग्ने हराएकी श्रीमती !
ओम प्रकाश निरौला / धनकुटा खबर / माघको चिसो दिन, मध्यान्हको समय भएपनि कठांग्रीने जाडोको कारण म ओछ्यानमा नै पल्टीरहेकी थिएँ । माया के हो ? हाम्रो समाजमा यसको संस्कार के छ ? संस्कार मात्र हेरेर पनि त भएन होला, नहेर्दा नी नहोला । आखिर लोग्नेको माया चाँही के हो त? यस्तै यस्तै अनेकौ कुराहरु मनमा खेलीरहेका थिएँ । गाई बस्तु, बाख्रा पाठा आदिको वास्तै नगरी म कोठामै सुतिरहेको थिएँ ।
“निद्रा लागेको छ की के हो?” कसैको बोलीले म झसङ्ग हुन पुगीछु । शुरुमा त मलाई निन्द्रा लागोस् या नलागोस, तँलाई के मतलब भन्न भन लागेको थियो तर खै के ले अड्काइदियो मैले त्यस्त भन्न सकिन । मैले केही समय अगाडि बोलीचाली भएको मान्छे भएपनि उसगँ मेरो राम्रो परिचय थिएन । तर उसलाई देख्दा मलाई उसगँ भेट भएको याद चाहि आयो ।
मलाई अन्य कुरा याद भएन तर उसको बोली नरम र मिठो थियो । मैले हतपत्त उसलाई बस्नोस् भने । तर म सुतेको खाटँ अगाडि कुनै मुडा, कुर्सी, पिरा, सोफा केही थिएन । मलाई झट्ट उठेर गएर केही ल्याइदिन पनि मन लागेन । उसले पनि कहाँ बस्नु भनेर सोधेन । थपक्क म सुतेकै खाटँको छेउमा बस्यो । कस्तो लाज सरम नभएको मान्छे रहेछ, थपक्क सुतेको ठाँउमा पो बस्यो भन्ने एक मनले सोच्यो र मैले उसलाई अलि फरक नजरले हेरे ।
ऊ त मलाई नै हेरीरहेको रहेछ । मेरा आँखामा नै पो हेरीराखेको रहेछ । मेरो आँखा उसको आखाँमा जब परे उसलाई त के भयो म भन्न सक्दिन तर मलाई नौलो अनुभूति भयो । खै रमाइलो भन्ने की के भन्ने ? तर उसका भावुक नानीहरुले मेरो मन बहलाइदियो । मलाई त कता कता गीतमा झकांर उत्पन्न भएजस्तो लाग्यो । मलाई त्यस्तरी पहिलो पटक त हेरीएको होइन तर ती आखाँमा मैले केही नौलो कुरा पाएँ ।
हरेक रात रक्सिको नशामा प्यास भरेर चुम्बनको बर्षा गर्नुभन्दा अगाडि आफ्नो श्रीमानले हेर्ने नजर र ती नजरमा धेरै फरक पाएँ मैले । यौवन वा बैशको प्यास बुझाउन हतारीएका आखाँहरु भन्दा ती आखाँ कयौं गुणा कामुक थिए, हृदयस्पर्शी थिए । मेरो शरिर अनायसै कम्पन भएर आयो ।
मलाई अलि पर सर्नुस सम्म नभनी ऊ त्याहाँ बस्यो । म पनि सरिन । मलाई केही सोध्न खोजे जस्तो गर्दै थियो तर केही पनि सोधेन । उसले कोठाको चारैतिर हेर्यो । भित्ता हेर्यो, दराज हेर्यो, ऐना हेर्यो, फोटाहरु हेर्यो । म पनि ऊ सगँसगै हेरीरहे । उसले के के देख्यो थाहा भएन तर मैले भने उसलाई मात्र देखे । अनि मलाई कता कता यस्तो लाग्यो की उ पनि भित्तामा, फोटाहरुमा, ऐनामा सबैतिर मलाई नै देखिरहेको छ ।
उसका आखाहरु भित्ते घडिमा गएर अड्कीए जस्तो लाग्यो । शायद उसलाई समयको धेरै महत्व छ । मलाई कता कता यो पल नै जिन्दगीको अन्तिम पल हो की जस्तो लाग्दैछ । ए, चार पो बजीसकेछ । उसले समयको जनाउ दिन्छ । उसका शब्द मेरो कानबाट भित्र छिर्छ । मलाई लाग्छ । मेरो जीवन शायद मध्य रातबाट शुरु भएको थियो की क्या हो । बिगतका जीवन, विवाह, सबै कतै अर्ध निन्द्रामा लिएका अनुभव मात्र हुन त ? न पीडा छ न खुशी छ । त्यतिकैमा म नौलो बिहानीको कामना गर्न थाले । हे इश्वर मलाई फेरी मेरो जीवन फकाइदेउ मैले मनमनै बिन्ती गरे ।
उसगँको सामीप्य मलाई विहान जस्तो लाग्यो । उसका सामीप्यमा उसका भावहरु सगँ म हारे शायद । ऊ मेरो लागी भाव बन्यो । मेरो धड्कनमा भएका तरगंहरुको राग बन्यो ऊ । मेरो मुटु र मनको एक भाग भयो ऊ । तरपनि मैले उसलाइ के भनेर सम्बोधन गर्ने भन्ने कुरामा म अल्मलीरहे ।
निदाएको बेला देख्ने सपना होइन ऊ मेरो लागी । मैले उसको प्रसंशा गर्नु पर्ने हो भने भर्खरै फूल्न लागेको फूललाई भवँराले गर्ने प्रसशां भन्दा मेरो नै बढी हुन्छ जस्तो लाग्यो । सबै कुरा सपना र उ सगँको समय मात्र बास्तविकता हो जस्तो लाग्न थाल्यो मलाई । म पहिलोपटक लोग्ने मान्छेसगँ नजीक भएको भने पटक्कै होइन तर किन किन म थर्थराइरहन पुगेछु । मरुभुमिमा प्यास मेटाउने तागत त उसमा छ छैन मैले भन्न सकिन तर निरस जीवनमा रस पैदा गर्ने शक्ति चाहि अवस्य उसमा हुनुपर्छ ।

म भित्र उसलाई समेटेर हराइरहेकी थिएँ । शायद ऊ पनि त्यसै गर्दै थियो होला । उसले मेरो शिरदेखी शायद पैतालासम्मै हेर्यो । उ जहा जहा हेथ्र्यो त्याहाँ त्याहाँ उसका आखाहरुले मलाई स्पर्श गरेको महशुष हुन थाल्यो मलाई । मैले एकपटक आफैलाई हेरे । मेरो घुडाँदेखी तलको भाग बस्त्रवीहीन नै रहेछ । मलाई झट्टै लुगा तल सार्न मन लाग्यो र हात बढाए । खै कसरी हो थाहा भएन तर मेरो हात उसको हातमा गएर रोकीयो । हात मात्र होइन मेरो त झण्डै झण्डै सास नै रोकीयो । अनि त मेरो लाज पनि रोकीयो । मनभित्रै पसिसकेको मान्छेलाई कपडा तानेर के छेक्न पो सकिन्छ जस्तो लाग्यो ।
हातले हातलाई स्पर्श मात्र गरेको थियो तर मलाई लाग्यो हामी एक अर्काको नसाको गति नापीरहेका छौ । मलाई हात त्याहाँ राखीरहन मन लागेन तर हटाउन पनि सकिन । अनि प्यारासुटबाट हामफाल्दा आखाँ चिम्लीएजस्तै गरि चिम्लिएर हाट छोडीदिएँ । हात खाटमा पनि झरेन, कतै ठोक्कीएन पनि । तर हात खस्यो कुनै कपडामा पर्रयो की जस्तो लाग्यो त्यो पनि होइन रहेछ । हात उसको हत्केलामा पो खसेछ । न पोल्ने गरिको तातो, न कठांग्रीने खालको चिसो, त ताप न राप तैपनी मेरो हात थरथर काप्नँ थाल्यो ।
ऊ मेरो दर्शक बनेको थियो शायद म उसका लागी एउटा चलचित्रको पात्र हुँ । हात हल्लिएजस्तो लागेपनि त्यो स्थिर थियो । हलचल त मनमा मात्र पैदा भएको थियो । मेरा भावनाहरुमा मात्र भइरहेको थियो ।
“के तिमीले मलाई बुझ्न सकेको छौ?”, मैले मनमनै सोधेको थिएँ तर आवाज बाहीर आयो । उसले आश्चयै मान्दै मलाई हेर्यो । तर केही सोधेन । मैले आफैलाई आफैतिर मोडेर सोच्न बाध्य भएँ । तिमी भन्ने शब्दले मलाई पूनः ब्यूझायो । म मा त्यो आटँ कसरी आयो मैले कसरी त्यो मान्छेलाई तिमी भन्न सके । अपरिचीत नभएपनि हामी त्यति नजीक पनि थिएनौ ।
मलाई यो के भएको हो ? मैले मलाई नै प्रश्न गरे । म एक विवाहीत महिला हुँ । मेरो श्रीमान छ, परिवार छ, मेरो छोरा छ । म जीवनमा धेरै थोक भइसके । कहिले काख बने, कहिले साथ बने कहिले विछ्यौना । हो म विछ्यौना पनि बने । तर कसरी ? नशामा आएर भावनाको ख्याल नगरी सागरलाई कुवा मानेर रझाइ गर्नु विछ्यौना बनाउनु त हो नी ।
के भन्नुभएको ? उसको प्रश्नले मेरो ध्यान फेरी ऊ तर्फ फर्कियो । मैले सोचे । कस्तो बच्चा जस्तो मान्छे । यति जाबो कुरा पनि बुझ्न नसक्ने । शायद अहिलेसम्म कुनै केटीमान्छेसगँ … । मलाई ऊ प्रति दया जागेर आयो । म मनमनै हाँसे ।
मैले विस्तारै उसको हात चलाए, औला औलाहरु केलाए । म स्पर्शको आनन्द लिइरहेकी थिएँ । शायद उसलाई पनि रमाइलो लागिरहेको होला जस्तो लाग्यो । मलाई मेरोभन्दा पनि उसका हातहरु नरम लागिरहेको थियो शायद उसले कुनै काम गरेको छैन । मैले उसको नजरमा यतिबेला आएर छुट्टै खालको प्यास देख्न थाले । त्यो मेरो लागी पहिलो नभएपनि नौलो लागिरहेको थियो ।
घाँस, सोतर काटेर कोदालो चलाएर, भाडाँ माझेर, फुटेका मेरा हातहरु माथी उसको न्यानो स्पर्श । उसको हातको स्पर्शले बढाएको उत्तेजनाको परिणाम स्वरुप मैले उसको हातमा चुम्बन गरिदिएँ । ऊ मलाई एउटा अबोध बालकले हेरेजस्तै गरि हेरीरह्यो । त्यसपछि मैले उसका हातहरु छोड्न मन लागेन र सुम्सुमाइरहे अनि म उसलाई चुमीरहे ।
म धेरै नजीकीएपछि मेरो कारणले हो वा उसकै कारणले हो उ पनि म सगँ धेरै नजिक भयो । मेरा प्रश्नको उत्तर हो या उसले गरेको अर्को प्रश्न हो त्यो त मैले भन्न सकिन तर उसले मैले उसलाई चुमे जसरी नै उसले पनि मलाई चुम्बन गर्यो ।
ऊ यस्तरी नजीकियो की अब हामी बीचमा कुनै दुरी नै बाँकी रहेन । जब ऊ अगाडि बढ्यो तब मलाई एक्कासी डर लाग्यो । मैले सोचे आखिर सबै लोग्ने मान्छहरु उस्तै त हुन नी । जसलाई झम्टन मात्र आउछ । झम्टिनु, लुटनु, चुड्नु, भावना विपरित कार्य गर्नु, आफ्नो मात्र मनोरन्जनको हेक्का राख्नु, भोग विलास गर्नु, अस्तीत्व लुट्नु र छोडिदिनु, अर्कालाई मर्माहत तुल्याउनु, बैशलाई मात्र प्रेम ठान्नु । पुरुष आखिर यति नै त रहेछन् ।
मलाई लाग्यो यो पुरुष पनि त्यस्तै त हो नी जो मलाई विगार्न चाहान्छ । मेरा भावनाहरुलाई कुल्चन चाहान्छ । मलाई रिस उठ्यो, झोकं पनि चल्यो, अनि फेरी संझीए नारीको कर्म यस्तै वा भनौ भाग्य यस्तै । मेरा आखाँहरु रसाए । एक दुइ थोपा आशु तल ओर्लीए । मैले आखा चिम्लिए र शरीर छोडीदिए जे सुकै गरोस् भनेर ।
म सगँ महिलालाई पनि इश्र्या लाग्ने केही कुराहरु थिए भने पुरुषका लागि त झन धेरै थिए होला । म सुन्दर थिएँ । जवान पनि थिए । अझ भोग विलासको आखाबाट हेर्दा त म सगँ धेरै कुराहरु थिए होला । उ अगाडि बढ्ने वित्तिकै मैले आखा चिम्लीएको थिए तर म त्यति बेला छक्क परे जब उसले उसका हातहरु मेरो बैशमा नमिसाएर मेरा आखाबाट झरेका आशु पुछ्न थाले । म त बढो आश्चर्यमा परे । तब म आखा खोल्न बाध्य भए । म रोइरहेको बालकले झै उसलाई हेर्न थालिछु । उसले मलाई एकदमै मायालु भावले हेर्यो, दया मिसाएर । आशु पुछिदियो । अनि नरुनु भनेर सम्झायो ।
उ भन्दै गयो । सबै पुरुषहरु निर्दयी हुदैनन् । उनीहरु पनि माया गर्छन् । कहिलेकाही गर्न जान्दैनन् । तर घर राम्रोसगँ बसाल्नमा दोष पुरुषको मात्र हुदैन । महिला हरु पनि सानो कुरालाई ठुलो बनाएर वा एक दिनको कुरालाई सधै मनमा लिएर नरमाइलो गरिरहेका हुनसक्छन् । पुरुषहरु पनि माया गरुन भन्ने चाहान्छन् । कहिलेकाही उचित मायाको अभावले पनि उनीहरु खराब भएका हुन सक्छन् । एउटा पुरुषको प्रवृतिलाई हेरेर सबैको तुलना गर्नु न्यायोचित नहुन सक्छ । ऊ भावुक भएर मेरा मनमा उब्जेका हरेक प्रश्नको उत्तर दिदै गयो । मलाई त्यतिबेला झन बढी अचम्म लाग्यो जब मैले मनमनै सोधेको प्रश्नको उत्तर पनि उ दिदै गयो । मेरा हरेक तिर्सनाहरुको उत्तर दिदै गयो । उसले नारीलाई पनि दोष दियो तरपनि म ऊ प्रति झन बढी आकर्षीत हुदै गए । उसका भावनाहरुमा प्रेम थियो, बास्तबमा भन्दा ऊ आफै प्रेम थियो ।
मैले झट्ट आफ्नो श्रीमानलाई सम्झे । उ राम्रै थियो । मलाई माया पनि गथ्र्यो । कहिलेकाही रिसाएपनि अरुबेला राम्रै थियो । म पनि एक दिन खाएको रक्सिको विषयलाई लिएर धेरै दिन उसगँ झगडा गर्न खोज्थे । दोष त मेरो पनि थियो नी । विस्तारै उ झन धेरै पिउन थाल्यो । फेरी मेरो मन त्यही फर्कीयो । उ केवल तनको भोगी थिएन । लोग्ने मानिस त यस्तो पो हुनुपर्छ त । मैले मनमनै स्विकार गरे । उसको विवेकताले मलाई ऊ प्रति समपर्ण हुन उत्सुक गरायो । ऊ प्रति झुक्न बाध्य गरायो ।
मैले मेरो श्रीमान र ऊ बीच तुलना गर्न खोजे । उसमा त्यस्तो आकर्षण गर्ने कुरा त केही थिएन तर म आकर्षीत हुन पुगे जसले गर्दा ऊ अतुलनीय भयो । लोग्ने मान्छे प्रतिको घृणाले हराएका मेरा प्यासहरु फेरी जुर्मुराएर उठे । म प्यासी मृग जस्ती भएँ । तिनै प्यासी नजर उसको अगाडि प्रस्तुत गरे । उ कुनै प्रतिक्रिया नदीइकन मलाई हेरीरह्यो ।
उसलाई नै मैले मेरो नजीक ताने । उ कहाँ थियोे त्यो त म भन्न सक्दिन तर म स्वर्गको द्धार तिर लम्कदै थिए । म आनन्दको पोखरीमा पौडी खेलीरहे । ऊ म सगै रमाइरह्यो । उसले मलाई हरेक कुराको लागि स्विकृति दियो । अनि मैले पनि कुनै पर्खाल नराखीकन उसलाई समेटीरहे । कुनै न कुनै ठाँउमा पुगेपछि हामी रोकीनै पर्ने थियो र हामी रोकीयौ । कालो बादल पूर्ण रुपमा हटेर आकाश खुल्ला भएजस्तै वा भनौ अध्यारो कोठामा एक्कासी बत्ती बलेजस्तै म छर्लङ्ग भएँ । छर्लङ्ग ….. ।
मैले ससांर भरकै खुशी समेटे जस्तै लाग्यो । त्यही बेला कोठा बाहीर कोही मान्छे हिडेको आवाजले मेरो कल्पनाको ससांर लाई भत्काइदियो । मैले कोठामा यताउता हेरे । मलाई त्यो खुशी दिने मान्छे त्याहाँ थिएन । कोठाबाट कोही मान्छे भित्र छिर्यो । ऊ मेरो लोग्ने थियो ।
म सुतिरहेको देखेर आश्चर्य मान्दै सोध्यो किन सुतेकी सन्च भएन? मलाई उसको स्वर रुखो लाग्यो । ऊ मेरो समिप आयो । निधार छाम्यो र भन्यो ज्वरो त छैन । पेट दुखेको हो ? मैले केही उत्तर दिइन । म अझै पनि आफ्नो कल्पनाको ससांरबाट बाहिर आउन सकिराखेकी थिइन । मेरो उत्तर नपाएपछि ऊ अलि फरक भयो । विस्तारै विस्तारै मलाई चुम्बनको बर्षा गराउन थाल्यो । उसले मलाई सोध्दा पनि सोधेन । मेरो भावना बुझ्न पनि खोजेन । हो उसले मलाई त्यही गर्न खोज्यो जो सधैभरी मलाई गरिनैरहेको थियो । मलाई त्यो कार्य अति नै असह्य भयो । मैले जोडले उसलाई म बाट हुत्याइदिएँ ।
ऊ खाटबाट तल खस्यो र आइया भन्दै उठ्यो । मलाई आइया भन्ने आफ्नै लोग्नेको आवाज सुनेर पनि दया जागेन । जीवनमा पहिलो पटक मेरा रिसका आवेगहरु र मेरो अनुहारका भावहरु देखेर होला शायद ऊ आश्चर्यमा पर्यो । मलाई गाली गरेन तर सोधीरह्यो । के भएको छ आज तलाई ? मलाई जे भएपनि तलाई के मतलब । मैले मनमनै उत्तर दिए । केही बोेलीन । ऊ मेरो समीपमा आयो । म उ बाट टाढा पन्छिए । र विस्तारै बाहिर निष्किए । बाहिर निष्किए र ढोका लगाए अनि चुकुल पनि लगाए र अघि बढेँ । ऊ भित्र बाट ढोका हान्दै कराउन थाल्यो । पर पुग्दासम्म म सुनीरहेकी थिएँ । निशा ! ओइ निशा ! के भयो तिमीलाई ? ढोका खोलत !


