दूतावास का प्रतिनिधि युएईको जेलमा !

माघ २२ । युएईको आबुधाबीस्थित नेपाली दूतावासले यहाँका जेलहरुको भ्रमण अभियान सुरु गरेको छ । अभियान अन्तर्गत युएईका सात वटा इमिरेट्समा रहेका सबै जेलमा पुगेर नेपालीको अवस्था बारे जानकारी लिइने छ ।

परराष्ट्र मन्त्रालयले गएको माघ १० गते विदेशस्थित सबै नेपाली नियोगहरुलाई पत्राचार गरेर सम्बन्धित मुलुकका जेलमा रहेका नेपालीको तथ्याङ्क र अवस्था जानकारी गराउन भनेको थियो ।

त्यसै अनुसार युएईका सातै वटा इमिरेट्सका ८ वटा जेल पुगेर कैदी जीवन बिताइ रहेका नेपालीको मुद्दा, उनीहरु माथि लागेको आरोप र अवस्था बारे जानकारी लिन सुरु गरेको हो । आरोप वा मुद्दाका विषयमा दूतावासले गर्न सक्ने कानूनी सहजीकरणका लागि योजना बनाउन पनि अभियान सुरु गरिएको दूतावासका प्रवक्ता एवं द्वितीय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो ।

दूतावासले सुरु गरेको अभियानमा कार्यवाहक राजदूत सागरप्रसाद फुँयाल सहित श्रम काउन्सिलर भेषबहादुर कार्की, द्वितीय सचिव कृष्ण अर्याल, श्रम सहचारी मोतिराम भुसाल, जनसम्पर्क अधिकृत इरफान आलम र रजी अहमद सहितको टोली हुनेछ । टाेलीले जेलमा पुगेर प्रतिवेदन तयार गर्नेछ ।

दूतावासले गएको हप्तादेखि जेल भ्रमण सुरु गरेको हो । नेपालीको अवस्था बारे जेलमा पुगेर प्रतिवेदन तयार गरी कुटनैतिक तवरबाट समस्या समाधान तर्फ काम गर्ने दूतावासको योजना छ ।

टोलीले सोमबार युएईको रसअल खेमा राज्यको जेल पुगेर नेपालीको अवस्थाबारे जानकारी लिएको थियो । त्यस जेलमा ४ जना नेपाली छन् । उनीहरु जेल सजाय भुक्तान गरे पनि अहिलेसम्म जेलमै छन् । त्यस विषयमा सम्बन्धित कम्पनीसँग छलफल गरिसकेको कार्यवाहक राजदूत सागरप्रसाद फुँयालले उज्यालोलाई बताउनुभयो ।

रसअल खेमाको जेलमा रहेका ४ नेपाली सबै पुरुष कामदार हुन । ती मध्ये दुई जना चोरी आरोपमा र दुई जना नक्कली कागजपत्र प्रयोग सम्बन्धमा जेल परेका हुन । रक्सी खाएर अनुमती बिना नचिनेका मान्छेको कोठामा पसेर सामान तोडफोड गरेकाहरु चोरी आरोपमा सजाय भोगिरहेका छन । रसअल खेमाको जेलमा श्रम सहचारी मोतिराम भुसाल र तथा जनसम्पर्क अधिकृत इरफान आलम पुग्नुभएको थियो ।

त्यस्तै दूतावासको टोली सोमबार सारजाहमा रहेकाे जेल भ्रमणका लागि गएको छ । श्रम काउन्सिलर भेषबहादुर कार्की र एक जना जनसम्पर्क अधिकृत नेपालीको अवस्था बुझ्न गएको दूतावासले जनाएको छ । यी दुवै जेल दूतावास रहेको ठाउँ आबुधाबी भन्दा झन्डै अढाई सय किलोमिटर भन्दा टाढा पर्छन् ।

भर्खरै कार्यभार सम्हालेका कार्यवाहक राजदूत फुँयालसमेत दुवईको जेलमा नेपालीको अवस्था बुझ्न जाने योजना छ । दुवईमा जेलमा रहेका अमरबहादुर बम लगायत अन्य ठूला मुद्दामा जेल परेका नेपालीको अवस्था बारे बुझ्न दुवई र आबुधाबी जेलमा कार्यवाहक आफैं जाने कार्यतालिका छ ।

दुतावासले गएको असारमा पनि युएईका सबै जेलमा पुगेर नेपालीको अवस्था बारे बुझेर सरकारलाई जानकारी गराएको थियो । त्यस बेला १ सय ९ जना नेपालीले युएईमा जेल सजाय भोगिरहेका थिए । यसवर्ष पनि दूतावासले आफ्ना नागरिकको विषयमा चासो देखाएर काम सुरु गरेकोमा नेपाली संघसंस्थाका प्रतिनिधिले प्रशंसा गरेका छन् । – उमाकान्त पाण्डे / उज्यालो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖