काठमाडौँको वाग्मतीजस्तो प्रदूषित बन्न नदिने भन्दै रेणु दाहाल पनि लागिन नारायणी नदी सरसफाइ अभियानमा !
चितवन, १४ फागुन । काठमाडौँको वाग्मतीजस्तो प्रदूषित बन्न नदिन यहाँका युवाले थालेको नारायणी नदी सरसफाइ अभियानमा स्थानीय र जनप्रतिनिधिले साथ दिएका छन् ।
अभियानमा आज बिहान भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, कार्यकारी अधिकृत प्रेमराज जोशी, महानगरपालिका–१ का अध्यक्ष जयराम श्रेष्ठलगायत स्थानीय युवा, समाजसेवी र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।
नारायणगढ बजार बन्द हुने हरेक सोमबार बिहान स्थानीय युवाले गत हप्ताबाट नारायणी नदी सरसफाइ अभियान थालेका थिए । हातमा पञ्जा लगाएर प्रमुख दाहाल, उपप्रमुख शाहलगायत उपस्थित सबै कुचोसहित सरसफाइमा जुटेका थिए ।
सरसफाइ कार्यक्रमपछि प्रमुख दाहालले नारायणी नदी किनारलाई सुन्दरस्थलका रुपमा विकास गर्ने महानगरपालिकाको योजना रहेको भन्दै आफूले कल्पना गरेको भन्दा बढी प्रदूषण नदी किनारमा पाएको बताउनुभयो ।
उपप्रमुख शाहले दीर्घकालीन योजनाका साथ नदी र आसपासका क्षेत्रको प्रदूषण हटाएर सुन्दर र हराभरा नारायणी बनाइने बताउनुभयो ।
नारायणी नदी आसपासका क्षेत्र पर्ने भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष जयराम श्रेष्ठले नारायणगढको गौरीश्वर मन्दिरदेखि नारायणीको पुलसम्म आठ ठाउँमा सोझै ढल नारायणीमा मिसिएको बताउनुभयो ।
चार ठाउँमा छुट्टै प्रशोधन गरेर पानी नारायणीमा फाल्ने गरिएको भए पनि ती ढलमा नमिसाई आठ ठाउँबाट भने सोझै नदीमा ढल मिसाएकाले नदी थप प्रदूषित बनेको बताउनुभयो ।
गौरीश्वर मन्दिरको पछाडि र केही पश्चिम नारायणी प्राथमिक विद्यालयको पछाडि नदीमा देवघाट र त्योभन्दा माथिबाट बगाएर ल्याएका मानिसको अन्त्येटी गर्दा प्रयोग भएका कोइला, फालिएका कपडा, मरेका जीवजन्तुलगायतका फोहरले थप समस्या देखिएको उहाँले बताउनुभयो ।
स्थानीय पुराना पत्रकार ईश्वर जोशीका अनुसार नदीमा पहिले पहिले घडियाल गोही, माछाजस्ता जलचर र चराचुरुङ्गी देखिने भए पनि प्रदूषण बढेपछि अहिले देखिन छाडेका छन् ।
अघिल्लो सोमबारदेखि शुरु भएको यो अभियान हरेक सोमबार बिहान गरिने उहाँले जानकारी दिनुभयो ।


