विप्लव को खोजी कार्य तीव्र पार्दे प्रहरी !
तौलिहवा । जिल्ला अदालत भोजपुरको आदेशअनुसार कपिलवस्तु प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) को खोजी कार्य तीव्र पारेको छ ।
विप्लवको घर कपिलवस्तु सदरमुकाम तौलिहवादेखि ८० किलोमिटर टाढा शिवराज नगरपालिका–९, शिवगढीमा पर्छ । पटकपटक भएको विस्फोटन र कर्तव्य ज्यानको अभियोगमा उनीविरुद्ध भोजपुर जिल्ला अदालतमा मुद्दा परेको थियो । भोजपुरमा मुद्दा परे पनि कपिलवस्तुको शिवगढी स्थायी र नागरिकता प्रमाणपत्रसमेत कपिलवस्तुबाट पाएको प्रमाणका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उनको खोजी अगाडि बढाएको हो ।
वडा प्रहरी कार्यालय चन्द्रौटाले मंगलबार विप्लवको घरमा पुगेर ७० दिने म्याद पुर्जी जारी गरेको थियो । पुर्जी जारीसँगै अदालतले दिएको आदेशको आधारमा विप्लवको खोजी कार्य थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए । ‘हामी कानुनपालक हौँ’, प्रहरी नायब उपरीक्षक कार्कीले भने, ‘अदालतको आदेशअनुसार जिम्मेवारी वहन गरेका छौं ।’
वडा प्रहरी कार्यालय चन्द्रौटाको एक टोली मंगलबार नै विप्लवको घरमा सूचना टाँस्न पुगेको थियो । टोलीमा प्रहरी निरीक्षक, वडाध्यक्ष र स्थानीय संलग्न थिए । प्रहरीले विप्लवको घरमा गएर सूचना टाँस गरेको विषय बुधबार दिउँसो मात्र जिल्लाबासीले थाहा पाएका थिए । विप्लवको घरमा पक्राउ पुर्जीसहितको सूचना टाँस गरिएपछि नेकपाका कतिपय जिल्लास्तरका नेता आश्चर्यमा परेका छन् । नेकपा समर्थित स्थानीय एक नेताले प्रहरीले टाँस गरेको सूचनाको खबर बुधबार दिउँसो मात्र थाहा पाएको बताए । तर, प्रहरीले भने स्थानीय समुदायको रोहबरमा म्याद तामेलीको सूचना टाँस गरेको दाबी गरेको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईले स्थानीयको रोहवरमा सूचना टाँस गरेको जानकारी दिए । म्याद तामेली गरेको ७० दिनभित्र आफूखुसी वा प्रहरीद्वारा जिल्ला अदालत भोजपुरमा उपस्थित नभएमा वा नगराएमा प्रचलित कानुनबमोजिम उनलाई कारबाही हुने निरीक्षक भट्टराईले बताए ।


