सासु, ससुरा र श्रीमतीसहित ९ जनाको हत्यारालाई कतारबाट नेपाल ल्याइयो

काठमाडौं । श्रीमती, सासु र ससुरासहित ९ जनाको हत्यामा संलग्न सकिल हुसेन मियाँ (सकिल मोहम्मद हुसेन) लाई कतारबाट इन्टरपोलको सहयोगमा आइतबार (आज) नेपाल ल्याइएको छ ।

इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंको सहयोगमा कतारको दोहाबाट सकिललाई नेपाल ल्याइएको प्रहरी प्रवक्ता मनोज नेउपानेले बताए । नेउपानेका अनुसार सकिललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिनेछ ।

उनी सप्तरीदेखि सुनसरीसम्मका ९ जना व्यक्तिको शृंखलाबद्ध हत्यामा संलग्न फरार अभियुक्त हुन् । उनले आफ्नै श्रीमती, सासु र ससुरासहित ९ जनाको हत्या गरेका थिए ।

२०६४ मा सप्तरीमा भएको हत्याकाण्डमा उन्मुक्ति पाएका सकिल त्यसपछि फरार थिए । त्यतिबेला प्रहरी अनुसन्धान कमजोर भएको आरोप लागेको थियो । पछि त्यो आरोप पुष्टिसमेत भयो ।

यस्तो छ सकिलको चर्चित हत्याकाण्ड

०६४ वैशाख २६ मा सप्तरी मलनियाँ ६ का आरुल मियाँ र पाण्डव पासवानको हत्या भयो । त्यो हत्यामा मृतकका आफन्तले सकिलको नाममा किटानी जाहेरी दिए । त्यसपछि उनी २०६८ मा पक्राउ परे तर आरोप पुष्टि नभएपछि थुनामुक्त भए । २०७२ जेठ २ मा सप्तरीको पटेरवामा खोला छेउमा आरुल मियाँ र पाण्डव पासवानको टाउको र हात काटी हत्या गरेर गाडिएको अवस्थामा अस्थिपञ्जर भेट्टिएको थियो ।

२०६९ असोज १० मा सप्तरी पटेर्वा–१ का ससुरा–बुहारी सहबुद मियाँ र सगिरा खातुनको हत्या भयो । त्यो घटनामा पनि सकिलको नाम जोडिन्छ । प्रहरीले सकिललाई दुलारी साह हत्यामा समेत मुख्य अभियुक्त मानेको छ ।

दुलारीसँग ६ लाख रुपैयाँ लिएर त्यो रकम फिर्ता माग्दा सकिलले २०७० मंसिरमा उनको हत्या गरेका थिए । सप्तरीमा २०७० चैत २ गते त्रिकौल गाविसकी निर्मलादेवी साह हत्याको आरोपमा सकिलको नाम जोडिएको छ । त्यही घटनापछि सकिल फरार भएका थिए ।

सकिलले पैसाका लागि आफ्नी श्रीमती, सासु र ससुरालाई समेत मारे । सप्तरीको टिकुलिया ७ का सासु, ससुरा र पत्नीको २०७० पुस महिना एकैरातमा ३ जनाको हत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भइसकेको छ ।

प्रहरी प्रवक्ता नेउपानेले सकिल पैसाका लागि जे पनि गर्ने अपराधी भएको बताए । प्रहरीले सकिलको योजना र संलग्नतामा विभिन्न समयमा सप्तरी र सुनसरीमा हत्या गरी गाडेका नौ जनामध्ये सातको मानव कंकाल समेत संकलन गरिएको छ । प्रहरीले सबैजसो हत्याको पछाडि पैसा नै कारण रहेको बताएको छ । – बाह्रखरीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।