घरमा श्रीमतीको व्यवहार सुध्रिएको देखेर मलेसियामा श्रीमान् दङ्ग !
रामेछाप, फागुन २१ । कस्तो छ तपाईंलाई ? के गर्दै हुनुहुन्छ ? गोपिनीले दुई वटा प्रश्न गर्नुभयोश्रीमानलाई, तर कुनै जवाफ आएन ।
प्रश्न त सामान्य नै हुन्, उत्तर दिन सकिने खालका । तर प्रश्न गर्ने तरिका फरक थियो गोपिनीको । ‘मेरो कुरा गराईले दङ्ग पर्नुभएछ’ गोपिनीले कुरोको चुरो आफैं खोल्नुभयो, ‘म उहाँसँग यसरी नबलेको ६ वर्ष भइसकेको थ्यो नि त ।’
गोपिनीका श्रीमान मलेसिया गएको ८ वर्ष भयो । गोपिनी सानै हुँदा आमा बित्नुभयो । त्यसैले उमेर नहुँदै उहाँको बिहे भयो । उहाँ घरकी पनि एक्ली बुहारी । सासु आमासहितको तीन जनाको परिवार बढेर पाँच जनाको भयो । दुई वटी छोरी जन्मिए ।
घरको आर्थिक अवस्था कमजोर भएकाले गोपिनीका श्रीमान् मलेसिया जानुभयो । छुट्टिने बेलामा दुई जनाले सकेसम्म दुःख गरेर कमाउने अनि परिवारमा खुसी ल्याउने सल्लाह गरेका थिए ।
तर मलेसियामा गोपिनीका श्रीमानलाई सोचे जस्तो भएन । समयमा फोन गर्न पाउनुभएन । पैसा पठाउने त कुरै भएन । फोन गरेका बेलामा घर आउँछु भन्नुहुन्थ्यो तर कमाउन नसकेपछि रित्तो हात कसरी फर्किने ।
यही बाध्यताले गोपिनीलाई आउँछु भनेपनि उहाँ ६ वर्षसम्म फर्किन सक्नुभएन । तर गोपिनीले श्रीमानका समस्यालाई समस्याका रुपमा बुझ्न सक्नुभएन्। बुझ्न सक्ने अवस्था पनि थिएन् । एकातिर घर खर्च जुटाउने समस्या अनि अर्कोतिर छोरीहरुको पढाइको खर्च ।
अनि राम्ररी कान नसुन्ने सासु पनि स्याहार्नु परेको थियो । उहाँ गाउँमा रातो माटो बेचेर पढाई खर्च जुटाउनुहुन्थ्यो । कापी कलम किन्ने पैसा नभएपछि उहाँ अरुका छोराछोरीले नलेखी फ्याँकेका पन्ना जम्मा गरेर सिलाएर दिनुहुन्थ्यो । पढाउन सक्दिन कि भन्ने लागेर गोपिनीले एउटी छोरीलाई काठमाडौं पठाउने पनि सोच्नुभएको थियो ।
‘त्यतिबेलादेखि नै मलाई कसैको कर्ममा त भावीले पनि दुःख नै दुःख लेखिदिएको हुन्छ भन्थे मेरो भाग त्यही परेको होला जस्तो लाग्थ्यो’गोपिनी भन्नुहुन्छ । त्यसमाथि छिमेकीले पनि तेरो श्रीमानले त उतै बिहे गरेर बस्यो भन्दिन्थे ।
त्यहीँबाट उहाँ चिन्तामा मात्रै डुब्न थाल्नुभयो । भोकको ख्याल हुँदैनथ्यो । निद्रा पनि पर्दैनथ्यो । यही कारणले उहाँलाई दिकदारीसँगै रीस पनि उठ्थ्यो । रिसको झोंकमा फोनमा श्रीमानलाई के भनें भन्ने पनि पत्तो पाउनुहुन्नथ्यो ।
‘एक दिन त मैले तँ कहिले आउँछस ?म तेरो लास कुरेर मसानघाटमा बसेको छु भनेंछु’ गोपिनीले सुनाउनुभयो ‘त्यो भन्दा पहिला पनि अलि अलि त झोक्किन्थें तर त्यो चाहिँ साह्रै भनेको रहेछु ।’
यसरी फेरियो अवस्था
गोपिनीको व्यवहार छरछिमेकले पनि थाहा पाएका थिए । सबिताको अवस्थाका बारेमा उनीहरुले गाउँमा सामुहिक मनोपरामर्श दिन पुगेका मनोसामाजिक परामर्शकर्तालाई सुनाए । परामर्शकर्ताले भेट्दा गोपिनीको अवस्था उस्तै थियो ।
‘मैले भेट्दा श्रीमानका बारेमा कुरा गर्दा उहाँ रीसले दाँत किट्नुहुन्थ्यो अनि त उहाँको अनुहार नै अर्कै हुन्थ्यो’ उहाँलाई मनोसामाजिक परामर्श दिने परामर्शकर्ताले सुनाउनुभयो ।
परामर्शकर्ताले गोपिनीको यही कुरालाई समातेर आफ्नो काम सुरु गर्नुभयो । परामर्शकर्ताले यदि तपाईं श्रीमानको ठाउँमा भइदिएको भए कस्तो लाग्थ्यो ? भनेर सोध्नुभयो । यस्तै गाली तपाईंले सुन्नु परेको भए तपाईं फोन गर्नुहुन्थ्यो कि हुन्नथ्यो भन्दै गोपिनीलाई सकारात्मक कुरा सिकाउन थाल्नुभयो ।
वैदेशिक रोजगारीका कारण समस्यामा परेका व्यक्तिका परिवारलाई सहयोग गर्ने सुरक्षित आप्रवासन परियोजनाले आकस्मिक कोषबाट गोपिनीका छोरीहरुलाई शैक्षिक सामग्री पनि दियो ।
आठ महिनाको परामर्शपछि गोपिनीको अवस्था फेरिएको छ । अहिले उहाँलाई त्यतिबेला आफूले देखाएका व्यवहार ठिक रहेनछ भन्ने लाग्न थालेको छ । ‘त्यतिबेला मैले कानलाई ठूलो बनाएँछु । जे सुन्यो त्यही पत्याउने अनि चिन्ता लिने’ गोपिनी भन्नुहुन्छ ‘उनीहरुले बुढोको बारेमा भनेका कुरा ठिक हुन कि होइनन् भनेर सोचेको भए यति साह्रो हुँदैनथ्यो होला नी’
अहिले त गाउँले कुरा सुन्नुहुन्न । श्रीमानसँग राम्ररी बोल्नुहुन्छ । ‘त्यही भएर त उहाँ छक्क पर्नुभको नी’गोपिनीले हाँसोको खित्का रोक्न सक्नुभएन ।श्रीमानले फोनमा सम्झाउने गरेको कुरा पनि सुनाउनुभयो सबिताले ।
श्रीमानले उहाँलाई अरुको कुरा सुनेर तनाव लिनु हुँदैन त्यस्तो सुन्न थाल्यो भने त घर बिग्रिन्छ भनेर सम्झाउनुहुन्छ । अनि गोपिनीले पनि अब त्यस्तो हुँदैन भनेर श्रीमानलाई विश्वास दिलाउनुहुन्छ । राम्ररी बोल्न थालेपछि त गोपिनीसँग श्रीमानले छोरीहरुको फोटो पठाइदिन भन्नुभयो । उहाँले पनि छिमेकीहरुको फेसबुकबाट फोटो पठाइदिनुभयो ।
कुनै बेला कसैको कर्ममा त भावीले पनि दुःख नै दुःख लेखिदिएको हुन्छ कि क्या हो भन्ने गोपिनी अहिले त दुःख चाहिँ भावीले लेख्नु भन्दा पनि आफैंले गर्दा निम्तिने रहेछ भन्ने निष्कर्षमा पुग्नुभएको छ । त्यसैले बाँकी जीवन तनाव नलिई बिताउने निष्कर्षमा पुग्नुभएको छ । – मनिका सुनुवार/ उज्यालो


