नगरपालिका मिनी सिंहदरबार जस्तो बन्नुपर्छ : मुख्य मन्त्री पोखरेल

बुटवल, २१ फागुन । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय तहलाई जनताको पहिलो सरकारका रुपमा सुविधासम्पन्न बनाउनुपर्ने बताउनुभएको छ ।

बुटवल उपमहानगरपालिकाको दोस्रो नगरसभालाई आज बुटवलमा सम्बोधन गर्दै उहाँले स्थानीय तहलाई सेवा केन्द्रका रुपमा विकास गर्दै नयाँ मापदण्डसहितको ‘मिनी’ सिंहदरबार बनाउने गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले वडा कार्यालयदेखि नगर, उपमहानगर र महानगरसम्मका कामलाई चुस्त र आधुनिक बनाउनुपर्नेमा जोड दिनुभयो ।

बुटवल ऐतिहासिक, प्रचुर सम्भावनायुक्त र मुलुककै प्रमुख केन्द्रका रुपमा रहेको उल्लेख गर्दै उहाँले यसलाई योजनाबद्ध रुपमा अझ व्यवस्थित र आधुनिकतासहितको ‘स्मार्ट सिटी’ बनाउन जरुरी रहेको बताउनुभयो ।

“बुटवललाई मुलुककै आधुनिक र व्यवस्थित शहरका रुपमा छुट्टै पहिचान दिने गरी विकास गर्नुपर्ने छ,” मुख्यमन्त्रीले भन्नुभयो – “यसैले आधुनिक शहरका लागि प्रष्ट खाका बनाउनुहोस् ।”

मुख्यमन्त्री पोखरेलले कम्तीमा आउँदो २० वर्षसम्मको अवस्थाको मूल्याँकन गर्दै योजना बनाउन सुझाव दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ मा तीन वटा विशेष महानगर बनाउने खाकासमेत बनाइरहेको जानकारी दिनुभयो । यीमध्ये पहिलो र व्यवस्थित बुटवल नै बन्ने र यहाँका अरु स्थानीय तहको नेतृत्वसमेत बुटवलले गर्नुपर्ने उहाँको भनाइ थियो । अर्को महानगर दाङ उपत्यकामा त्यहाँका उपमहानगर र नगरपालिकाहरु समेटेर बनाउने र त्यहाँ कुनै पहिचानका काम गरिने जानकारी पनि उहाँले दिनुभयो । अर्को नेपालगञ्ज, कोहलपुर बर्दियासहितको विशेष महानगर बनाउने गरी अवधारणा अघि सारिएको पनि उहाँले बताउनुभयो ।
विधेयकहरु छलफलमा

बुटवल उपमहानगरपालिकाको फागुन १० गते बिहीबारदेखि शुरु भएको दोस्रो नगरसभा तथा प्रथम विधानसभामा विभिन्न नौ वटा विधेयक प्रस्तुत भएका थिए ।

उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीका अनुसार बुटवल नगरकार्यपालिकाको प्रशासकीय कार्यविधि ९नियमति गर्न बनेको० विधेयक २०७४, नगर शिक्षा विधेयक २०७४, नगर सहकारी विधेयक २०७४, कृषि व्यवसाय प्रवद्र्धन विधेयक २०७४, फोहरमैला व्यवस्थापन विधेयक२०७४ र औद्योगिक व्यवसाय विधेयक २०७४ प्रस्तुत भएका छन् ।

यस्तै, निर्माण व्यवसाय विधेयक २०७४ तथा सार्वजनिक निजी साझेदारी विधेयक २०७४ र सार्वजनिक निजी साझेदारी नीति २०७४ प्रस्तुत भएका छन् ।

उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले स्थानीय तहलाई प्राप्त संवैधानिक अधिकारहरुको उपयोग गर्दै आवश्यक ऐन, नियम र कानून बनाउन लागिएको बताउनुभयो । उहाँले आएका सुझावलाई आवश्यकतानुसार समेटेर अन्तिम रुप दिइने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।