मुक्तिनाथमा मोदीको प्रतीक्षा, रानीपौवा बजारदेखि नै सरसफाइ

मुक्तिनाथ, मुस्ताङ, २८ वैशाख । नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बिहान मुक्तिनाथ दर्शनका लागि आउँदै हुनुहुन्छ ।

भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथको भ्रमणमा आउने पहिलो उच्च तहको विदेशी पाहुना हुनुहुनेछ । उहाँको भ्रमणले धार्मिक पर्यटकीय गन्तव्य मुक्तिनाथको थप प्रसिद्धि बढ्ने ठानिएको छ । पर्यटन प्रवद्र्धनका अतिरिक्त मुक्तिनाथ क्षेत्रको विकासमा समेत भ्रमणलाई जोडेर हेरिएको छ । भारतका कुरु क्षेत्र र हरिहर क्षेत्र तथा नेपालका बराह क्षेत्र र मुक्ति क्षेत्र चार मुख्य धाम मानिन्छन् ।

भ्रमण नेपाल र भारतबीचको सांस्कृतिक एवं धार्मिक सम्बन्ध सुदृढीकरणको कडी बन्ने ठानिएको छ । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामोले भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको ऐतिहासिक महत्व रहेको बताउनुभयो । “मोदीको भ्रमणले हामी उत्साहित छौँ, उहाँको स्वागत गर्न आतुर छौँ”, प्रमुख ल्हामोले भन्नुभयो ।

भ्रमणपछि मुस्ताङको विकास र समृद्धिमा भारतीय सहयोग थप बढ्ने अपेक्षा लिइएको उहाँको भनाइ छ । “नयाँ परियोजना आउने विश्वास छ, विशिष्ट व्यक्तिको भ्रमणले यहाँको विकासमा पक्कै टेवा पुग्छ”, उहाँले भन्नुभयो । भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणले पर्यटन प्रवद्र्धनमा ठूलो महत्व राख्ने नेपाल भारत मैत्री संघ मुस्ताङका अध्यक्ष गणेश शेरचनले बताउनुभयो । अन्तर्राष्ट्रिय जगत्मा मुक्तिनाथ क्षेत्रको पहिचान अभिवृद्धि हुने उहाँको भनाइ छ । “मुक्तिनाथको प्रचारप्रसारमा भ्रमणले ठूलो सन्देश दिन्छ”, उहाँले भन्नुभयो, “भ्रमण सफल र फलदायी बनाउन सबै जुट्नुपर्छ ।” उहाँले यस किसिमका भ्रमणबाट नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो हुने धारणा राख्नुभयो ।

पर्यटन व्यवसायी एवं जनप्रिय युवा क्लब मुक्तिनाथका पूर्वअध्यक्ष सुरज गुरुङले भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ भ्रमणलाई मुस्ताङवासीले सौभाग्यका रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले छिमेकी देशका कार्यकारी सरकार प्रमुखको भ्रमणलाई सामान्य रुपमा लिन नहुने धारणा राख्दै भन्नुभयो “यो भ्रमणबाट मुक्तिनाथ क्षेत्रको पहिचान र महिमा थप उजागर हुने छ ।”

मुस्ताङको आर्थिक–सामाजिक विकासमा भारतले विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ । हिन्दू र बौद्ध धर्मावलम्बीको साझा धार्मिक गन्तव्यका रुपमा परिचित मुक्तिनाथमा सबैभन्दा बढी भारतीय तीर्थयात्री आउने गर्छन् । भारतमा समेत मुक्तिनाथ मन्दिरको प्रसिद्धि छ ।

तयारी अन्तिम चरणमा

शनिबार बिहानै हुने भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ दर्शन तयारी अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथ मन्दिर परिसरमा मोदीको स्वागतका लागि विशेष तयारी गरिएको छ । सुरक्षालगायत सम्पूर्ण व्यवस्थापनका काम अन्तिममा पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिरराज पौडेलले बताउनुभयो । मोदीको स्वागतका लागि मुक्तिनाथ मन्दिर परिसरमा पाँच स्वागतद्वार निर्माण गरिएको छ । मन्दिरमा रङ्गरोगन, साजसज्जा र सरसफाइका काम गरिएको छ ।

शनिबार बिहान ७ बजेर २० मिनेट जाँदा प्रधानमन्त्री मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरबाट मुक्तिनाथ आउने कार्यक्रम छ । मोदीसहित आउने भ्रमण टोलीका लागि मन्दिर परिसरमा पाँच हेलिप्याड बनाइएको छ । मन्दिरमा विशेष पूजाआजाका लागि सबै तयारी गरिएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताउनुभयो । पूजाआजापछि भारतीय प्रधानमन्त्री मोदी शनिबारै काठमाडौँ फर्कने कार्यक्रम छ ।

रानीपौवा बजारदेखि नै सरसफाइ

प्राकृतिक मनोरम दृश्यले सजिएको हिमालपारिको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर र आसपासको क्षेत्र यतिखेर चिटिक्क सिङ्गारिएको छ । वरपर चाँदीजस्तै टलक्क टल्कने हिमशृङ्खला रहेको मुक्तिनाथमा विश्वमा नै महत्वपूर्ण शक्ति राष्ट्रका रुपमा उदीयमान छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार हुने यहाँको दर्शन भ्रमणको पूर्वतयारीस्वरुप सरसफाइ र रङ्रोगनले यहाँको सुन्दरतालाई थपेको छ ।

मोदीको मुक्तिनाथ दर्शनलाई लक्ष्य गरी स्थानीय व्यवस्थापनका लागि मुक्तिनाथ मन्दिर रहेको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख छेन्तोक छेप्तेन गुरुङको संयोजकत्वमा रहेको स्थानीय व्यवस्थापन समितिको सक्रियतामा मुक्तिनाथ मन्दिरदेखि रानीपौवा बजार र आसपास क्षेत्रमा सरसफाइ गरिएको छ ।

सरसफाइमा रानीपौवा बजार र आसपासका सर्वसाधारण घरघरबाट जुटेका छन् । मन्दिर परिसरमा रहेका १०८ धाराको टुटी रङरोगनका साथै मुख्य द्वारमा रङ लगाएर आकर्षक बनाइएको छ । भ्रमणको तयारीस्वरुप मुक्तिनाथको मुख्य प्रवेशमार्गमा स्वागतद्वार राखिसकिएको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।