बाल यौन दुराचारमा संलग्न विदेशी पक्राउ
काठमाडौँ । महानगरीय अपराध महाशाखाले बाल यौन दुराचारमा संलग्न विदेशीलाई आज पक्राउ गरेको छ ।
महाशाखा टोलीले काठमाडौँ बस्ने युवतीलाई फेसबुकमार्फत साथी बनाई आर्थिक प्रलोभन देखाउँदै यौन दुराचार गर्ने स्वीट्जरल्याण्डका ६६ वर्षीय पिटर क्रिश्चियन ल्याङगेनण्डोर्फलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले बताउनुभयो ।
काठमाडौँको चुच्चेपाटीस्थित टिगर होटल र भक्तपुरका विभिन्न होटलमा बोलाई उनले यौन दुराचार गर्ने गरेको अनुसन्धानमा खुलेको जनाइएको छ ।
अभियुक्त पिटरले चुच्चेपाटीमा टिगर इन र भक्तपुरमा वेलकम हेरिटेज इन होटल साझेदारीमा सञ्चालन गर्दै आएको महाशाखाले जनाएको छ । मुलुकी ऐन, जबर्जस्ती करणी महलको दफा ३ मा १६ वर्षभन्दा कमको नाबालकलाई जबर्जस्ती करणी गरेमा छदेखि १० वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था छ ।


