कांग्रेसको नजरमा सरकारका ६ महिना ! (भिडियो सहित)

काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार ६ महिनामा ‘जस्ट पास’ मात्र भएको बताएको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएको ठीक ६ महिना पुगेको सन्दर्भमा आफ्ना धारणा तय गर्दै कांग्रेसले सरकारको यस्तो मूल्यांकन गरेको हो ।

आइतबार अपराह्न पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार प्रभावकारी हुन नसकेकाले जस्ट पासमात्र भएको आफुहरुको मूल्यांकन रहेको बताए । जस्ट पास भएर ‘समृद्ध नेपाली, सुखी नेपाली’ को नारा कार्यान्वयन नहुने भन्दै उनले कमजोरी सच्याउन सरकारलाई आग्रह गरे ।

६ महिनामा सरकार सात ठाउँमा चुकेको पनि कांग्रेसको निष्कर्ष छ । राष्ट्रियता, लोकतन्त्र, संघीयता, सुशासन, मूल्यवृद्धि, समृद्धि र न्यायालयमाथिको व्यवहारको विषयमा सरकार चुकेको प्रवक्ता शर्माले बताए ।

कांग्रेसको चाहना सरकारले समृद्धिको सपनालाई अघि बढाओस् भन्ने रहे पनि नीति तथा कार्यक्रम र बजेट सोहीअनुसार नआएको प्रवक्ता शर्माले बताए । ‘खोई कहाँ छ दुई तिहाइको सरकार ? कहाँ छ शक्तिशाली प्रधानमन्त्रीको ओझ ?’ उनले प्रश्न गरे ।

सरकारमाथि कांग्रेसको ७ आरोप:

१. राष्ट्रियताः उग्र राष्ट्रवादको कारुणिक विसर्जन । निर्वाचनको मैदानमा मत माग्दै गर्दा उग्र राष्ट्रवादको लहरले ठूलो प्रभाव पारेको थियो तर सरकार गठनको केही महिना नपुग्दै त्यसको सम्पूर्ण रंग बदलिन पुग्यो । खासगरी सरकारको नेतृत्व राष्ट्रवादको मुद्दामा नराम्रोसँग चुकेको तथ्य जगजाहेर छ ।

२. लोकतन्त्रः लोकतान्त्रिक प्रक्रियामा आउनु, निर्वाचित हुनु र लोकतान्त्रिक संस्कृति अनुरुपको हुनुमा फरक हुन्छ । प्रतिपक्षप्रति द्वेषयुक्त अभिव्यक्तिहरु, निषेधाज्ञा, मिडियामा बढ्दो हस्तक्षेप र नागरिक स्वतन्त्रतामाथि अतिक्रमण मार्फत् सरकारद्वारा प्रस्तुत प्रवृत्ति समग्रमा लोकतान्त्रिक संस्कृति अनुरुप किमार्थ होइन् ।

३. संघीयताः कमजोर गराउने, आलोचना बढाउने र असफल गराउने नियतमा देखियो संघीय सरकार ।

४. सुशासनः विश्वविद्यालयका उपकुलपति माथि अपमानजनक ब्यवहार, सुन प्रकरणमा भनिएका ठूला माछाको उन्मुक्ति, अनि भ्रष्टाचारको सत्ता संरक्षीत विकेन्द्रीकरणले कम्युनिष्ट सरकारको सुशासनको चित्र प्रष्ट्याएको छ ।

५. मूल्यवृद्धिः हिजो सर्वहाराको नारा आज सर्वहारालाई चर्को मूल्य उपहार । त्यसबारे प्रधानमन्त्रीबाट गैरजिम्मेवार जवाफ । स्थानीय तहमा कर आतंक हुदै गर्दा सिंहदरवारको उदासिन भूमिका ।

६. समृद्धि यात्राः सपनाको हवाई उडान तर नीति तथा कार्यक्रममा न इच्छाशक्ति देखियो न बजेट मार्फत त्यस्तो क्रमभंगको कुनै भिन्न कार्यक्रम आयो । ६ महिने उपलव्धिमा पुरानै प्रगतिका विवरण पनि समेटिएका छन् ।

७. न्यायालय प्रधानमन्त्रीको दोहोरो चरित्रको शिकार । कार्यपालिका र व्यवस्थापिकाको लाचार छायाँ बनाउने षडयन्त्र ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖