नेपाल–चीनबीचको सम्बन्ध निकै उत्कृष्ट र प्रगाढ : सभामुख

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले तिब्बतसँगको ऐतिहासिक, सांस्कृतिक सम्बन्धका कारण नेपाल–चीन सम्बन्ध प्रगाढ भएको बताउनुभएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको संस्कृति तथा पर्यटन मन्त्रालयले ल्हासामा आयोजना गरेको ‘चौथो चीन तिब्बत पर्यटन एवं सांस्कृतिक प्रदर्शनी–२०१८’ का अवसरमा उहाँले तिब्बतसँगको सम्बन्धले चीन र नेपालबीचको ऐतिहासिक व्यापार मार्ग, संस्कृति आदानप्रदान तथा राजनीतिक संवादलाई जोडेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले तिब्बत दुई देशबीचको सम्बन्ध, व्यापार, पर्यटन, संस्कृति एवं अन्य चासोका क्षेत्रको द्वारका रुपमा रहेको छ ।”

पर्यटन तथा सांस्कृतिक प्रदर्शनीमा सहभागी हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताउँदै सभामुख महराले केही दशकयता तिब्बतले आर्थिक एवं भौतिक पूर्वाधारमा प्राप्त गरेको सफलता प्रदर्शनीमा देख्न सकिने बताउनुभयो ।

उहाँले पर्यटन तथा सांस्कृतिक प्रदर्शनीमा राखिएका सामग्री, कार्यक्रम, व्यापारिक कक्ष एवं विधागत मञ्च हेर्दा आफूले तिब्बत वास्तविक उत्पादन, व्यापार, संस्कृति, धार्मिक एवं पर्यटकीय गन्तव्य भएको पाएको बताउनुभयो । प्रदर्शनीमा नेपाल पनि सहभागी भएको चर्चा गर्दै सभामुख महराले यसबाट चीनमा नेपाली सामग्रीको निर्यात बढ्ने र चीनसँग रहेको व्यापार घाटा कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

चिनियाँ राष्ट्रपति सि जिङपिङले शुरु गरेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’मा नेपाल पनि सहभागी हुन पाएकामा खुशी व्यक्त गर्दै सभामुख महराले भन्नुभयो, “हामीले बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत अन्तरदेशीय सम्पर्क सञ्जाल, पूर्वाधार निर्माण र ऊर्जा क्षेत्रमा रहेका अवसरलाई दुई पक्षबीच अभूतपूर्व सहकार्य हुन सक्ने देखेका छौँ । नेपाल र चीनको तिब्बत बीचका अन्य धेरै सीमा बिन्दु द्विपक्षीय व्यापारमा प्रयोग गर्न सक्छौँ ।”

उहाँले पर्यटन तथा सांस्कृतिक प्रदर्शनीले आगामी दिनमा दुई देशबीचका नयाँ सीमा बिन्दु पहिल्याएर व्यापार तथा पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल र चीनको तिब्बतबीच एक हजार ४१४ किलोमिटर लामो सीमाना रहेको चर्चा गर्दै सभामुख महराले नेपाल र तिब्बत बीचको सामाजिक, सांस्कृतिक, धार्मिक एवं व्यापारिक सम्बन्ध हजारौँ हजार वर्ष पुरानो रहेको स्मरण गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।

नेपाल–चीनबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीचको सम्बन्ध निकै उत्कृष्ट र प्रगाढ रहेको बताउँदै सभामुख महराले नेपालले ‘एक चीन नीति’मा प्रतिबद्धता जनाउनुका साथै आफ्नो मुलुकभित्र चीनविरुद्ध कुनै गतिविधि हुन नदिनेमा प्रतिबद्धता रहेको स्मरण गराउनुभयो ।

ल्हासामा स्थापना भएको नेपालको महावाणिज्य दूतावासले नै नेपाल–तिब्बत सम्बन्ध प्रष्ट हुने भन्दै सभामुख महराले महावाणिज्य दूतावास स्थापना भएदेखि दुई देशबीचको सम्बन्ध एवं चीनको तिब्बतसँगको सामाजिक–आर्थिक, व्यापारिक, पर्यटकीय एवं सांस्कृतिक प्रवद्र्धन हुँदै आएको बताउनुभयो । “हामीले चीनले प्राप्त गरेको अभूतपूर्व आर्थिक सफलता र सांस्कृतिक विकास खासगरी विकास र पूर्वाधार क्षेत्रमा तिब्बतमा भएका सफलता नेपालका लागि पनि अवसरका रुपमा लिएका छौँ”–उहाँले भन्नुभयो, “तिब्बतमा भएको सफलताबाट खासगरी सीमा क्षेत्रका जनताको तहमा हामी यो रुपान्तरबाट लाभान्वित हुन चाहन्छौँ ।”

सभामुख महराले नेपालको संघीय संसद्ले जनताको तहमा दुई देशको सम्बन्धलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल–चीन संसदीयमैत्री समूह गठन गरेकोसमेत बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖