नेपाल–कतारबीच लगानी सम्झौता हुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि प्रारम्भ हुने चारदिने औपचारिक भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन केन्द्रित हुनाका साथै केही सम्झौतासमेत हुने बताइएको छ ।

मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी कतार प्रस्थान गर्दै हुनुहुन्छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्राध्यक्षको यस किसिमको भ्रमण मूलतः आपसी सम्बन्ध थप सुमधुर र सुदृढ पार्न केन्द्रित हुने भए पनि अतिरिक्त अन्य विषयमा समेत केन्द्रित हुने जानकारी दिनुभयो । रासससँग कुरा गर्दैै मन्त्री ज्ञवालीले भन्नुभयो, “कतारमा ठूलो सङ्ख्यामा रहेका नेपाली कामदारको सुरक्षा र सरोकारका विषयमा विशेष छलफल हुनेछ । भ्रमण टोलीमा नेपालका उद्योगी व्यवसायीसमेत सहभागी हुने हुनाले नेपाल र कतारका बीचमा व्यापार विस्तारका क्षेत्रमा समेत छलफल केन्द्रित रहनेछ ।”

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार नेपालमा कतारको लगानी र प्रविधि मूलतः कृषि र पूर्वाधार निर्माणका क्षेत्रमा भित्र्याउने सम्बन्धमा विशेष छलफल हुने र सोहीअनुरुपका केही सम्झौता हुनेछन् । नेपालको हिमाली पानी प्रशोधन गरी कतारमा निर्यात गर्ने विषयमा समेत छलफल अगाडि बढेको मन्त्री ज्ञवालीले बताउनुभयो ।

नेपाल र कतारबीचको आवागमनलाई सहज र निकट बनाउनका लागि सीधा हवाई उडान र कूटनीतिक राहदानीवाहकलाई प्रवेशाज्ञाविना नै आवतजावतको अनुमति दिने सम्बन्धमा समेत छलफल हुने बताइएको छ ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालका सचिव विनोद केसी, नेपाल लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, सञ्चारकर्मी एवम् उद्योगीसमेत रहनुहुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।