चुरा बनाएरै राम्रो आम्दानी गर्छिन् मीना

तीर्थ भट्टराई, महुवा । जनकपुरधाम उपमहानगरपालिका–१८ महुवाटोल बस्ने मीना मण्डल आफैँले चुरा बनाएर बिक्री गरी आत्मनिर्भर बनेकी छन् ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको लघुउद्यम विकास कार्यक्रम (मेडेप) मार्फत ‘मित्र धनुषा’ नामक संस्थाबाट १० दिनको तालीम लिएकी मीनाले घरमै बनाएको चुरा बेचेर राम्रो आम्दानी गर्दै आएकी हुन् ।

उनले लाहा, चपरामा रङ मिलाएर तथा रञ्जक (खोटोबाट बनेको) र ‘ह्वाइट पाउडर’ मिलाएर घरमै चुरा बनाउँछिन् । चुरा बनाउन सबै कच्चा पदार्थ भारतबाट आउँछ । तैपनि उनले बनाएका चुराको माग स्थानीयस्तरमै धेरै छ । बजारको कमी छैन । बजारका मेशिनबाट बनेका चुरासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसके पनि हातैले बनाएका लाहाको चुराको विशेष महत्व छ । पूजा, विवाह, व्रतबन्धमा लाहाको चुरा लगाउने चलन छ । काँचको चुरा अशुद्घ मानिन्छ ।

चुराका लागि शत्प्रतिशत कच्चापदार्थ रिङ, रङ्ग, चपरा आदि भारतबाट खरीद गरेर ल्याउनुपर्छ । उनले माटोको चुरा पनि बनाउँछिन्, जुन अलि सस्तो हुन्छ ।

पहिले घरखर्च चलाउन धौ धौ हुने उनी अहिले महीनामा कम्तीमा रु १५ हजार कमाउँछिन् । यसैले घरखर्च र छोराछोरीको पढाइ खर्च चलेको छ । अहिले त उनी तालीम दिन पनि जान्ने भइसकेकी छन् । तालीमको सिलसिलामा काठमाडौँसम्म पनि पुगेकी छन् उनी । मीना भन्छिन्, “तालीम पाएपछि यस कामबाट राम्रै कमाई भएको छ, घरखर्च चलेको छ, आफ्नै काम भएकाले मन लागेको बेला र बिहान–बेलुका फुर्सदमा जुनसुकै बेला पनि गर्न सकिन्छ । परिवारका सदस्यले पनि सघाउँछन् । बजारको चिन्ता लिनु परेको छैन ।” उनी भन्छिन्, “देशमै कच्चापदार्थ पाउने हो भने अझ राम्रो हुन्थ्यो ।”

प्रदेश नं १ र २ का लागि युएनडिपीका क्षेत्रीय संयोजक धनबहादुर चन्दले यी महिलालाई युएनडिपीको लघुउद्यम विकास कार्यक्रमअन्तर्गत कार्यान्वयन साझेदार संस्था मित्र धनुषासँगको सहकार्यमा तालीम दिइएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को ‘स्टाण्डर्ड प्याकेज’अन्तर्गत उनीहरुलाई तालीम, बजार खोजी, प्राविधिक सहयोग तथा प्याकेजिङ सम्मको तालीम उपलब्ध गराइने गरेको र यसबाट उनीहरु निकै लाभान्वित भएको बताउनुभयो ।

मेडेपको आर्थिक सहयोगअन्तर्गत काम गरिरहेको उद्यम विकास सहयोग संगठन (विडिएसपिओ) का अध्यक्ष सुधा कर्णले महिलाको आवश्यकता तथा रुचिअनुसार आफैँलाई रोज्न दिएर सो अनुसार तालीम दिइएको बताउनुभयो । महिलालाई तालीम दिएर उदयपुर, काभ्रे आदि जिल्लामा बजार अभियान पनि चलाइएको उहाँले बताउनुभयो ।

अध्यक्ष कर्णका अनुसार मित्र धनुषाबाट करीब २०० महिलालाई यस्ता आयआर्जनका तालीम दिइएको छ जसबाट महिलाको जीवनस्तरमा धेरै सुधार आएको छ । पहिले बोल्न नसक्ने, छोराछोरी पढाउन नसक्ने महिलाहरु अब बोल्न सक्ने र पढाइ खर्च जुटाउन सक्ने भएका छन् ।

उहाँले भन्नुभयो, “अब मीना आफैँ बँैक जान सक्छिन् र आफैँ बोलेर काम सम्पन्न गरी फर्कन सक्छिन्, उनी तालीम दिन बेलाबखत बाहिरी जिल्ला पनि जान्छिन् ।”यसरी छोटो अवधिको तालीमले कसरी महिलालाई आत्मनिर्भर मात्र होइन अरूलाई पनि सीप सिकाएर सम्मानजनक रुपले बाँच्न सक्छन् भन्ने उदाहरण मीनाले देखाएकी छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।