‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा हुने राष्ट्रपतिको विश्वास

काठमाडौँ, २६ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीनकालदेखि स्वतन्त्र राष्ट्रका रूपमा विश्वमानचित्रमा अङ्कित रहेको बताउँदै हाम्रा पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकका रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पुर्याएको बताउनुभएको छ ।

पृथ्वीनारायण शाहको २९७औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले यो देश एकीकरण नभएको भए औपनिवेशिकताको प्रवाहलाई रोक्न सकिने थिएन र स्वतन्त्र राष्ट्रका रूपमा उठ्न र स्वतन्त्र राष्ट्रकै रूपमा रहन पनि सम्भव थिएन भन्नुभएको छ ।

नेपाल एकीकरण अभियानका सूत्रधार र नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९७औँ जन्मजयन्तीका अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्दै राष्ट्रपतिले सन्देशमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै राष्ट्रलाई समुन्नत, स्वावलम्बी र सक्षम बनाउन महत्वपूर्ण उपायहरू सुझाउनु भएको स्मरण गर्नुभएको छ ।

नेपाल सबै जातको फूलबारीका रूपमा रहेको आत्मसात् गर्दै हाम्रो समाज सांस्कृतिक विविधताबीच समन्वयको बलियो सूत्रमा एकताबद्ध भएको कुरा उहाँबाट उसैबेला व्यक्त भएको उल्लेख गर्दै सन्देशमा राष्ट्रपति भण्डारीले अर्थतन्त्र सुदृढीकरणका लागि सुशासन अपरिहार्य रहेको मनन गर्दै घूस दिने र लिने दुबै देशका शत्रु हुन् भन्ने धारणा राख्नुभएको बताउनुभएको छ ।

देशको भूराजनीतिक अवस्थालाई प्रतिबिम्बित गर्न यो राज्य दुई ढुङ्गाबीचको तरुल हो भनेर औँल्याउनुभएको चर्चा गर्दै उहाँले जनचाहना बुझ्न सिपालु, जनइच्छालाई सर्वोपरि ठान्ने पृथ्वीनारायण शाहका ती जीवन्त दृष्टिकोणहरू मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को सामयिक सङ्कल्प पूरा गर्न प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।