दशैँको अवसरमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर
काठमाण्डौ । नेपाल टेलिकमले नेपालीहरुको चाड दशैँको उपलक्ष्यमा रिचार्जमा बोनस बाहेकका अफरहरु घटस्थापना अर्थात असोज १२ गतेदेखि नै लागू गरेको छ । कम्पनीका अनुसार फोरजीएलटीई र अन्य सेवाहरुमा विशेष छुटसहितका अफरहरु छन् । फोरजीएलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन ।
पहिलो पटक फोरजीएलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई दुई दिनको समयावधिसहितको दुई सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । त्यस्तै पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइएको छ । यो सबै सेवा अर्को सूचना जारी नभएसम्म रहने छ ।

प्रिपेड ग्राहकले पनि आगामी छठ (कात्तिक) १६ गते सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सक्नेछन् । मिस्ड कल अलर्ट (एमसीए) ले नेटवर्क नभएको, मोबाइल बिजी भएको वा मोबाइल फोन स्विच अफ भएको समयमा पनि पछि स्विच अन गर्दा छुटेका वा मिस्ड भएका कलहरुको अलर्ट दिन्छ । रिचार्जमा बोनस जीएसएम सीडीएमए ग्राहकका प्रिपेड पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस पनि पाइनेछ ।
विजयादशमीको अवसरमा आगामी असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोस बाट रिचार्ज गर्दा बोनस पाइनेछ । यो योजनामा ५०, १०० र २०० रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र ५०० र १००० रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । तर ५०, १०० र २०० रुपैयाँको को बोनस ३ दिनभित्र र ५०० र १००० रुपैयाँको बोनस ५ दिनभित्र उपयोग गरिसक्नुपर्नेछ ।
त्यसैगरी एमपोसबाट १० देखि ४९९ रुपैयाँसम्मको रिचार्ज गर्दा १० प्रतिशत र ५०० वा माथिको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ ।

