नेपाल र भारतका राष्ट्रपतिबीच पहिलो भेटघाट जापानमा, के भयो कुराकानी ?

विशेष प्रतिनिधि श्याम रिमाल । जापान, ५ कात्तिक । जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा यहाँ भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान उनीहरु बसेको होटलमा भेटवार्ता भएको छ । राष्ट्रपति भएपछि यो उनीहरुको पहिलो भेटघाट हो ।

सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने जानकारी दिए । सन् २००६ मा सांसद हुँदा भने कोविन्दले नेपाल भ्रमण गरिसकेका छन् ।

आयोजनाहरु छिट्टै बन्ने

सो अवसरमा दुवै पक्षबाट नेपाल भारत सम्बन्धमा सन्तोष व्यक्त गर्दै यसलाई अझ व्यापक, फराकिलो, गहन र बहुआयामिक बनाइने दृढता व्यक्त गरियो । भारतबाट सहयोग प्राप्त आयोजनाहरुले नेपालमा तीव्रता पाएकाबारे छलफल हुनाका साथै पेट्रोलियम पाइपलाइन निर्धा्रित समयभन्दा छिटो बन्नु नमूनायोग्य काम भएको भेटवार्तामा उल्लेख गरिएको परराष्ट्र सचिव शङ्करदास वैरागीले जानकारी दिए ।

दुवै पक्षले अन्य आयोजना पनि छिट्टै बन्ने विश्वास व्यक्त गरे । दुवै देशका प्रधानमन्त्रीहरुको गत वर्ष अप्रिल र जुनमा भएको भेटघाटपछि अरुण तेस्रो, पञ्चेश्वर, तराई सडक, एकीकृत भन्सार जाँचचौकी, रेल्वे आदि परियोजनाले तीव्रताका साथ गति लिएको जनाइएको छ । नेपालले गुरुनानकको जन्मजयन्तीमा तीन थरि सिक्का निष्काशन गरेकामा र गान्धी जयन्तीमा प्रकाशित कृतिमा प्रधानमन्त्री केपी ओली शर्माको लेख समेटिएकामा पनि भारतले नेपाललाई धन्यवाद दिएको छ ।

सो अवसरमा नेपालका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं भारतीय पक्षबाट विदेश सचिव विजय गोख्ले, जापानका लागि भारतीय राजदूत सञ्जय वर्मालगायत सहभागी थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖