शीर्ष नेताको भाईटीका : राष्ट्रपति र प्रधानमन्त्रीले उत्तम साइतमै लगाए भाइटीका, पूर्वराजाले भने ४ मिनेट अगाडी नै
काठमाडौं । राजनीतिक व्यस्तता कम हुँदा शीर्ष नेताले पनि परिवारसँग बसेर भाइटीका लगाएका छन् । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले दाजुभाइ तथा दिदीबहिनीको हातबाट भाइटीका लगाएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कान्छो भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाउँनुभएको थियो । ११ बजेर ५५ मिनेटको उत्तम साइतमा नै राष्ट्रपतिले भाइटीका लगाउनुभएको शीतल निवासले जनाएको छ ।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बहिनीको हातबाट भाइटीका ग्रहण गर्नुभएको थियो । झापामा रहेकी बहिनी कौशल्या कोइराला र चितवनमा रहेकी अर्की बहिनी विष्णुकुमारी ढकालले प्रधानमन्त्री ओलीलाई भाइटीका लगाइदिएका थिए ।
त्यस्तै झलनाथ खनालले भने भक्तपुरमा रहेकी जेठी दिदी यशोधादेवी आचार्य र काठमाडौमा रहेकी बहिनी कुसुम खनालको हातबाट शुभ साइतमै भाइटीका लगाउनुभएको थियो । त्यसैगरी, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले भने बहिनी सुशीला खड्काको हातबाट टीका लगाउनुभएको थियो ।
यस्तै, पार्टीका अर्का नेता रामचन्द्र पौडलले भने दिदी चन्दा ओझाबाट सप्तरंगी टीका लगाउनुभएको थियो । यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहीको हातबाट बिहान १० बजेर ५१ मिनेटमा टीका लगाउनुभएको थियो ।
दरबारको शुभसाइत जुराउने विधि फरक भएकाले अन्य साइत भन्दा अगाडि नै पूर्वराजा शाहले टीका लगाउनुभएको थियो । न्यूज 24 नेपाल


