गाडी आएर के गर्नु ? खेतबारी बाँझै छन् !

जाजरकोट । नलगाड नगरपालिका–८ का धर्मबहादुर खत्री ६७ वर्षका भए। उनी सानो हुँदादेखि गाउँमा पानी ल्याएर जमिनमा सिँचाइ गर्ने कुरा उठ्दै आएको थियो । सानो छँदा उठेको कुरा सात दशक टेक्न लाग्दासम्म पूरा हुन सकेको छैन । बाबाको सपना, उनको सपना र छोराका सपना सबै पानी ल्याएर घर नजिकैको खेतबारी सिँचाइ गर्नु थियो ।

वर्षे र हिउँदेबाली लगाएर मनग्य आम्दानी गरी वर्षभरि आफैंले उत्पादन गरेको खाद्यान्न प्रयोग गर्नु थियो । उनी भन्छन्, “हाम्रो सीमा गाउँमा हजुरबुबादेखिको सपना, मेरो छोरा आधा उमेर पुगुन्जेलसम्म पूरा हुन सकेन । आजभोलि नातिनतिना खेती लगाउनै अल्छी मान्न थाले ।”

विकासका नाममा सडक आएको छ, मोबाइल फोनमा घरभित्रैबाट देशविदेशमा कुरा गर्न सकिन्छ तर पेट भर्नका लागि चाहिने खाद्यान्न उत्पादन गर्ने जमिन भने बाँझो छ । अर्का ५६ वर्षीय कलीमान कामी भन्छन्, “गाडी, मोटर त हिउँदयाममा घर नजिकै आउँछन्। चढेर आउने सजिलो त भयो, खेतबारीमा उत्पादन भने केही पनि छैन । सबै जग्गाजमिन बाँझै छ, उता पठाउँदा खाली जान्छ ।”

कति पटक हामीले सिँचाइका लागि सबैलाई अनुरोध गरिसक्यौं तर कसैले पनि ध्यान दिँदैनन् । उनले भने, “हामीले हाम्रो जमिनमा आफैंले उत्पादन गरेको अन्नले वर्षभरि खाना पुग्ने वातावरण सरकारले तयार गरोस्, त्यही माग छ ।”

काम गर्ने तर भोकै मर्ने विधिको अन्त्य होस् भन्दै अर्का किसान हरिबहादुर खत्री भन्छन्, “किसानको जीवनस्तर माथि नउठेसम्म, नयाँ नेपालको सपना पूरा हुन सक्दैन ? त्यसैले किसानको अवस्था बदल्नतिर सबै तहका सरकार लाग्नुपर्ने हाम्रो माग हो ।”

पर्याप्त सिँचाइ, कृषि प्राविधिक र बीउको व्यवस्थापन गरी कृषकको ऊर्जाशील समय सदुपयोग गर्नसमेत खत्रीले अनुरोध गरे । “खेतबारी सिँचाइ गर्नका लागि पानी छैन । घरमा बसेर के काम भो र ? हामी खाद्यान्न लगाएका वस्तुको खरिद गर्ने रकम कमाउन भारत नगई सुख छैन ।”

गाउँलेहरू भारत तथा काठमाडौंमा मजदुरी गर्न बाध्य छन् । “सबै सुविधा भएको भए आफ्नै बाँझो जमिनमा तरकारी, खाद्यान्न उत्पादन गरेर पेटभरि खाने मात्र होइन, बजारसम्म लिएर बिक्री गर्ने इच्छा छ” , खत्रीले भने।

घरमा छोराछोरी पत्नी अनि आफन्तसँग बसेर खेतबारीमा खाद्यान्न उत्पादन गर्ने इच्छा हुँदाहुँदै पनि थातथलो छाडेर छ महिना बाहिर बस्नु बाध्यता भएको तासेका इन्द्रबहादुर खत्रीले बताए ।

“दुई वर्ष पहिले नजिकै पानी घट्ट थिए, एक घण्टा टाढा रहेको खोलाबाट पाइपमा पानी ल्याएर केही पैसा भएका गाउँले मिलेर जमीन सिँचाइ गरी तरकारी उत्पादनसम्म गरिन्थ्यो, अहिले सडक निर्माण भएसँगै पानी स्रोत पुरिएका कारण अन्न पिस्ने पानी घट्टसमेत बन्द भएका छन्” , काङजाका मानबहादुर खत्रीले भने ।

सडक निर्माणसँगै अधिकांश ठाउँमा पानीका मुहान पुरिँदा सिँचाइ सुविधाबाट सयौँ गाउँलेका खेतबारी बाँझै छन् । पानीकै अभावमा पानी घट्टसमेत बन्द भएको स्थानीयवासी बताउँछन् । सडकमा हिउँदयाममा मात्र यातायातका साधन सञ्चालन हुने गरेका छन् भने कृषकका खेतबारी वर्षायाममा आकाशे पानीको भरमा मात्र मकैखेती लगाउन मिल्ने भएको किसान बताउँछन् । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।