प्रधानमन्त्री ओली राजनीतिका ‘चतुर खेलाडी’ : नेकपा र राजपा सहमतिमा ओली राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिका ‘चतुर खेलाडी’ मानिनुहुन्छ । आफ्ना विपक्षीलाई ऐनमौकामा सहजै ‘कन्भिन्स’ गर्न सक्ने क्षमता उहाँमा भएको केही तथ्यहरुले पुष्टि गरेका छन् । द्वन्द्वकालदेखि शान्तिप्रक्रियासम्म ओलीका सबैभन्दा धेरै निशानामा पर्ने तत्कालिन माओवादी र प्रचण्ड अहिले ओलीसँगै छन् अर्थात नेकपामा ।
मधेस आन्दोलनदेखि संविधानको विरोधमा उत्रिएको तत्कालिन मधेस केन्द्रीत दलहरु हालको राजपा र यसका अध्यक्ष राजेन्द्र महतो ओली निशानामा पर्थे । अहिले त्यही दलसँग नेकपाले राष्ट्रियसभा सदस्यका लागि सम्झौता गरेको छ । नेकपा अध्यक्ष केपी शर्मा ओली विरोधीलाई आफ्नो लाइनमा ल्याउन खप्पिस मानिनुहुन्छ । पार्टीभित्र होस् वा बाहिर, ओलीका विरोधी धेरै टिक्न सक्दैनन् । यो हामीले भनेको होइन, केही तथ्यहरुले पुष्टि गरेको हो ।
कुनै समय ओलीले सबैभन्दा बढी विरोध तत्कालिन माओवादी र त्यसका अध्यक्ष पुष्पकमल दाहालको गर्नुहुन्थ्यो । २०७४ को आम चुनावमा एमाले र माओवादीबीच कार्यगत एकता हुँदै पार्टी एकीकरणसम्म भयो । अहिले पहिलो अध्यक्ष ओलीलाई नै मानेर अध्यक्ष दाहाल वरियतामा दोस्रो अध्यक्ष हुनुहुन्छ । एउटा जबरजस्त उदाहरण हो, यो ।
यस्तै, पार्टीभित्रैका आफ्ना खरो आलोचक घनश्याम भुसाल, योगेश भट्टराईहरु ओलीको विरोध गर्ने हैसियतमा हुनुहुन्न ।ओलीको अर्को निशाना राष्ट्रिय जनता पार्टी पनि हो । त्यसमा पनि राजेन्द्र महतो ओलीले सबैभन्दा बढी निशानामा पार्ने नेतामा पर्नुहुन्छ । फाइदाको सम्झौता भनौ या विरोधीलाई आफू नजिक ल्याउने दाउ । राष्ट्रियसभाको निर्वाचनमा प्रदेश २ बाट दुई–दुई जना नेकपा र राजपाले भागवण्डा गरेका छन् ।
हस्ताक्षर पनि नेकपाबाट अध्यक्षद्वय ओली र दाहाल अनि राजपाबाट राजेन्द्र महतोले गर्नुभएको छ । ‘यो निर्वाचनका लागि मात्र हो’ भन्छ– राजपा । तर, विश्लेषकहरु प्रधानमन्त्री ओलीको ‘एक तिर दुई निशान’ भन्छन् । राजपालाई नजिक बनाएर मधेसभित्रको पकड खोज्नु र अर्को समाजवादी दललाई ‘काउन्टर’ दिनु । तर, समाजवादी यसले सरकारको निरन्तरतामा फरक नपर्ने बताउँछ ।
ओलीको ‘काउन्टर’ समाजावादीलाई भएको विश्लेषणलाई नेकपा नेता एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटा र नेता खिमलाल भट्टराईका भनाइले पुष्टि गर्छ । ओली नीति हाललाई कडा देखिएको राजपालाई विश्वासमा लिनु र बाबुराम भट्टराई समेत रहेको समाजवादीलाई बाहिर राख्न पनि यो सम्झौताको सुरुवात मान्नेहरु पनि छन् । त्यसैले ओली आफ्ना स्थायी शत्रु राख्नुहुन्न ।


