को सकियो जवाफ देऊ !
केहि महिना अघिको उपचुनावमा नेकपाले जीतेका केहि सीट हात पर्नासाथ कांग्रेस प्रबक्ता विश्व प्रकास शर्माले नेकपा सुध्रन पर्ने अन्यथा सकिने निष्कर्ष पत्रकार सम्मेलन राखेर सार्वजनिक गरेका थिए ।
गगनले धेरै ठाउमा भाषण नै गरेर नेकपाका सकिने दिन शुरु भएको उद्घोष गरेका थिए । तर यतिबेला कांग्रेस सकिएर निल भएको छ विश्व प्रकास र गगन यतिबेला कहाँछन ? किन पत्रकार सम्मेलन गरेर आफूहरु सकिएको स्वीकार्न सकेनन् ? यतिबेला विश्व प्रकास र गगनका सामु जनताले प्रश्न तेर्साएकाछन् ।
राष्ट्रियसभाको रिक्त १८ सिटका लागि बिहीबार भएको मतदानको सम्पूर्ण मतपरिणाम अनुसार नेकपा १६ सिट र राजपा २ सिटमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा काँग्रेसले भने एक सिट पनि जितेन र यसअघिको ७ सिट पुरै गुमाएको छ । नतिजाअनुसार प्रदेश नम्बर २ मा राजपा र नेकपाका २–२ उम्मेदवार विजयी भए । जहाँ राजपा नेकपाको गठबन्धन थियो । प्रदेश नम्बर २ मा राजपा उम्मेदवार मृगेन्द्र कुमार सिंह यादव र शेखर कुमार सिंह विजयी भए । यस्तै नेकपाबाट तुलसा कुमारी दाहाल र राधेश्याम पासवान विजयी भए ।
अन्य प्रदेशमा सबै नेकपाका उम्मेदवार विजयी भए । जसअनुसार प्रदेश नम्बर १ बाट इन्दिरा देवी गौतम, गोपी बहादुर सार्की अछामी र देवेन्द्र दाहाल विजयी भए भने बागमती प्रदेशबाट गंगा कुमारी बेल्बासे र बेदुराम भुसाल विजयी भए ।
यसैगरी गण्डकी प्रदेशबाट भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ विजयी हुँदा प्रदेश नम्बर ५ बाट विमला घिमिरे, गोपाल भट्टराई र जगप्रसाद शर्मा विजयी भए । यस्तै कर्णालीबाट सुमित्रा बिसी र माया प्रसाद शर्मा विजयी हुँदा सुदूरपश्चिमबाट शारदा देवी भट्ट र नारामान स्वास विजयी भए ।
निर्वाचन बिहीबार बिहान १० बजेदेखि अपराह्न ४ बजसम्म मतदान चलेको थियो । आयोगका अनुसार, प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको थियो । प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन र वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन मतदानस्थल तोकिएको थियो ।
गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ का मतदाताका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका मतदाताका लागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका मतदाताका लागि दीपायलस्थित पद्म पब्लिक मुक्तिनारायण उच्च माविबाट मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।
५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसदको पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये बिहीबार १८ सिटका लागि मतदान भएको हो । प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभा निर्वाचनका मतदाता रहने यो निर्वाचनमा कुल मतभार ५३ हजार ५ सय ८ रहेको छ । चुनावका लागि ६ दलका ४५ जना उम्मेदवार मैदानमा थिए ।


