प्रचण्ड-माधव : केपी ओलीसँग फरक छुट्याउनोस् !
काठमाडौं । पत्रपत्रिकामा छापिने बाल सामग्रीमा दुईवटा उस्तै-उस्तै चित्र दिइन्छ र लेखिएको हुन्छ- फरक छुट्याउनोस् । बुधबार काठमाडौंको एक होटलमा आयोजना गरिएको सम्पादकहरुसँगको छलफलमा प्रश्न उठ्यो- केपी ओली, प्रचण्ड र माधव नेपाल उस्तै-उस्तै हुन् कि फरक
? ओली पक्ष र प्रचण्ड-माधव पक्षवीच फरक कसरी छुट्याउने ?नेकपा फुटेर बनेका दुवै समूहलाई आम जनताले उस्तै उस्तै देखिरहेको र प्रतिपक्षी कांग्रेसलाई पनि एउटै ड्याङमा राखेर हेरिरहेको भन्दै सम्पादकहरुले प्रश्न उठाए । नेता र पत्रकारबीचको अन्तरक्रियामा प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, जनार्दन शर्मा, मातृका यादव र योगेश भट्टराईको उपस्थिति थियो ।कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र माधवले केपी ओली र आफूहरुबीच फरक छुट्याएर हेरिदिन आग्रह गरे । जनताको विश्वास जित्नका लागि कमी कमजोरीहरुप्रति आत्मालोचना गरेर अघि बढ्ने प्रतिवद्धतासमेत जाहेर गरे । प्रचण्डले त यसबारे श्वेतपत्र नै जारी गरिने बताए ।
‘हो, जनतामा राजनीतिप्रति, नेताहरुप्रति वितृष्णा छ । सबै नेताहरु एउटै हुन्, जुन जोगी आए पनि कानै चिरेका भन्ने एक किसिमको मानसिकता छ ।’ कार्यक्रममा सहभागी नेकपाका अध्यक्ष माधवकुमार नेपालले भने, ‘यो नकारात्मक प्रवृत्तिलाई कसरी सकारात्मक बनाउने भन्ने कुरा सोच्नुपर्छ । हामीले जनताको विश्वास जित्नुपर्छ । त्रुटि, कमजोरीहरुलाई सच्याउनुपर्छ । अहिले जुन ढंगले प्रचार गरिएको छ, त्यसलाई प्रष्ट पार्नुपर्ने पहिलो आवश्यकता छ ।’
माधव नेपालले गुनासो पोख्दै भने, ‘केपी ओली अनि माधव-प्रचण्ड उस्तै-उस्तै हुन् भन्दाखेरि त्यसले मलाई त घोच्छ । अरुलाई पोल्छ/पोल्दैन, मलाई त पोल्छ ।’
माधव नेपालले जस्तै प्रचण्डले पनि केपी ओली र आफूहरुवीच फरक छुट्याउने प्रयास गरे । उनले भने, सबै उस्तै उस्तै हुन्, पदका निम्ति नै झगडा गरेका हुन् भन्ने पर्सेप्सन गइराखेको छ भन्ने कुरा हामीलाई मोटामोटी थाहा छ । यसलाई चिर्न हामीले अझै मेहनत गर्नुपर्ने रहेछ भन्ने आज महसुस भएको छ । हुन त उही र उस्तै त होइनौं ।… तर, राजनीतिमा पर्सेप्सन भन्ने कुरा धेरै ठूलो हुन्छ । त्यसो भएको हुनाले मुखले भनेर मात्रै होइन, व्यवहारद्वारा नै हामीले त्यसलाई सावित गर्नुपर्नेछ ।कार्यक्रममा माधव नेपाल र प्रचण्डले यसरी आफूहरुलाई केपी ओलीसँग फरक छुट्याउने प्रयास गरे
मेरो आफ्नै खालको नेचर छ : माधव नेपाल
अवश्य पनि विगतमा त्रुटिहरु भएका छन् । म तपाईहरुसँग यसमा खुल्लारुपमा छलफल गर्न चाहन्छु । बसेरै । सप्पै ल्याउनोस् । पुराना कुराहरुको सबै पत्र, तथ्य तथ्यांक प्रमाण ल्याएर म तपाईंहरुका सामुमा खुला अदालतमा उभिन तयार छु । तर, जम्मै नेताहरु उस्तै हुन् भन्दाखेरि घोच्छ क्या मलाई ! समाजमा राम्रा मान्छे पनि छन् । असल नियतका छन् । कमजोरी मान्छेमा हुन्छ, तर नियत ठीक बेठीक, को कस्तो प्रकृतिको हो, त्यसको गुण, चरित्र र अन्तर्यको विश्लेषण गर्नुपर्छ ।


