राधाकृष्ण मन्दिरको यात्रा: आध्यात्मिक जागरणसँगै विद्यालय सञ्चालन

वासुदेव पौडेल/गण्डकी, २५ माघ । धार्मिक सङ्घसंस्थाको स्थापना मुख्यतः आध्यात्मिक जागरणमा नै केन्द्रित हुन्छ । पोखरा महानगरपालिका–३२ लामोआहालस्थित राधाकृष्ण मन्दिर यस्तै आध्यात्मिक जागरणसहित निम्बार्क सम्प्रदायको विस्तार गर्ने लक्ष्यका साथ विसं २०२२ मा स्थापना भएको हो । मन्दिर स्थापनाको पाँच दशकभन्दा बढी भइसकेको अवस्थामा यहाँको राधाकृष्ण मन्दिरसँगै यसको सक्रियतामा राधाकृष्ण गुरुकूल संस्कृत विद्यालय केही वर्षयता सञ्चालनमा आइसकेको छ ।

विसं २०७० मा स्वीकृति प्राप्त गरी विसं २०७१ देखि सञ्चालनमा आएको यस विद्यालयमा कक्षा ६ देखि १० सम्मको अध्ययन अध्यापन हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त सिग्देलले बताउनुभयो । “विद्यालयमा संस्कृत माध्यमिक विद्यालयको पाठ्यक्रममा आधारित रही पठनपाठन भइरहेको छ”, उहाँले भन्नुभयो, “विद्यालयमा हाल विभिन्न जिल्लाबाट आएका ३० विद्यार्थी आवासीय रुपमा अध्ययन गरिरहेका छन् ।” मन्दिर परिसरमा वृद्धाश्रमका साथै गौशालासमेत रहेको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव घनश्याम खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्दिरको लामोआहालमा लगभग ५२ रोपनी जग्गा रहेको छ । विसं २०२२ मा तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेंसीकी भक्तिनी आमाका रुपमा परिचित हरिप्रिया दासीको सङ्कल्प एवं उहाँका गुरु भगवतशरण देवाचार्यको सक्रियतामा मन्दिर स्थापना गरिएको हो । इतिहासअनुसार तत्कालीन समयमा मन्दिर स्थापनाका लागि राजा महेन्द्रसँग भेटेर जग्गा उपलब्ध गराउन आग्रह गरिएको र तत्कालीन रुपाकोट गाउँ पञ्चायतबाट जग्गा प्राप्त भएको सचिव खनालले बताउनुभयो ।

मन्दिर स्थापना भएपछि नेपालका निम्बार्क सम्प्रदायका संस्थापक भगवतशरण देवाचार्य नै यहाँको पीठाधीश बन्नुभएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सदस्य एवं ब्रह्मरुपा माविका शिक्षक राचन्द्र सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार भगवतशरण देवाचार्य बृन्दावनबाट फर्केपछि विसं २००८ मा स्याङ्जा, पाल्पा र तनहुँको सङ्गम केलादीघाटमा निम्बार्क पीठ स्थापना गरी यस सम्प्रदायको प्रचारप्रसारमा लाग्नुभएको थियो । मांसाहारलाई बर्जित गर्ने यस सम्प्रदायका अनुयायी एकान्तप्रिय, साधना प्रिय र राधाकृष्णका उपासक हुन्छन् ।

नेपालमा लगभग चार लाख जति निम्बार्क सम्प्रदायका अनुयायी रहेको अनुमान गरिएको छ । लामोआहालमा राधाकृष्ण मन्दिर स्थापनासँगै यस क्षेत्रमा निम्बार्क सम्प्रदायको विस्तार, वृद्धाश्रम, गौशाला आदिको स्थापना हुँदै विद्यालयसमेत स्थापना हुनु आफैँमा महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो । सिग्देलका अनुसार राधाकृष्ण मन्दिर स्थापना भएसँगै यहाँको पीठाधीशको जिम्मेवारी भगवतशरण देवाचार्य (२०२२–२०३६), हरिदास देवाचार्य (२०३६–२०५२), शखीशरण भण्डारी(२०५२–२०६४), लक्ष्मीशरण पौडेल (२०६४–२०७५) र मुकुन्दशरण उपाध्याय(२०७५ देखि हालसम्म) प्राप्त गर्नुभएको छ ।

मन्दिरको सक्रियतामा वृद्धाश्रम तथा विद्यालय सञ्चालनमा ल्याइए पनि यसको खर्च व्यवस्थापन भने विभिन्न दानदातव्यबाट भइरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । वृद्धाश्रममा बस्दै आएका लगभग ५० जनाको सङ्ख्याका ज्येष्ठ नागरिकमध्ये कतिपयले आफैँ खाना बनाएर खाने गरेको तथा कतिपयलाई खाना बनाएर खुवाउने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव खनालको भनाइ छ । मन्दिर परिसरमा गौशालासमेत स्थापना भएको छ ।

विद्यालय सञ्चालनका लागि पोखरा महानगरपालिकाको शिक्षा प्रशासन महाशाखाबाट लगभग सात लाख रुपैयाँ वार्षिक अनुदान आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त सिग्देलले जानकारी दिनुभयो । विद्यार्थीलाई आवासीयरुपमा राखेर पठनपाठन गराइएको उल्लेख गर्दै उहाँले आवास खर्चका साथै शिक्षकलाई पारिश्रमिकको जोहो गर्न धौधौ हुने गरेको बताउनुभयो । “विद्यालयतर्फ शिक्षकलाई अत्यन्त न्यून पारिश्रमिक दिँदा पनि मासिक रु एक लाख २० हजार खर्च हुने गरेको छ”, उहाँले भन्नुभयो, “छात्रावासमा सामान्य भोजन खर्च न्यूनतम मासिक रु एक लाख हुन्छ ।” विद्यालयमा गुणस्तरीय शिक्षा दिने लक्ष्यका साथ योग्य शिक्षकको व्यवस्थापन गरिएको उल्लेख गर्दै उहाँले यसको सञ्चालनका लागि केही दरबन्दी आवश्यक भएको बताउनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।