डिजेल चोरी तस्करी गर्ने ३ जना पक्राउ
वाग्मती: डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ।
ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा गए राति प्रहरीले जाँच गर्दा पक्राउ गरिएको बताइएको छ।
कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार उक्त ट्याङ्करसहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२२ का ३४ वर्षीय शम्भुप्रसाद महतो, मकवानपुर राक्सिराङ गाउँपालिका–३ का २२ वर्षीय अशोक पाख्रिन र मकवानपुरको मनहरि गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण उप्रेती छन्।
पक्राउ परेकामध्ये सोही ट्याङ्करका उप्रेती चालक हुन् भने पाख्रिन सहचालक तथा महतो श्वेता आयल ट्रेडर्सका मुन्सी रहेको नायब उपरीक्षक कुँवरले जानकारी दिए।


