घारखोलामा मोटर चल्ने पुल निर्माण शुरु

म्याग्दी, ९ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ को सिमानास्थित घारखोलामा मोटर चल्ने पुल निर्माण शुरु भएको छ । पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा निर्माण हुन लागेको पुलको शनिबार विघटित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलान्यास गर्नुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ, म्याग्दीले ठेक्का लगाएको एक वर्षपछि पुल निर्माण शुरु भएको हो ।

रु तीन करोड ४८ लाख ९४ हजार ७० लागत अनुमान गरिएको पुल निर्माण गर्न फेवा–बिएम जेभी पोखरालेरु दुई करोड ८१ लाख ७८ हजार ६४६ मा ठेक्का लिएको छ । विसं २०७६ माघ १७ गते ठेक्का सम्झौता भएको पुल २०७८ साउन २४ गते सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।

परामर्शदाताले गरेको गलत डिजाइनका कारण सम्झौता गरेको करिब एक वर्षपछि पुल निर्माण शुरु भएको हो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि विमलेश आचार्यले बताउनुभयो ।

“सम्झौता लगत्तै पुल निर्माण गर्ने ठाउँमा लगेका मेसिन दुई महिनासम्म खोला किनारमै राखेर फिर्ता गर्नुपर्यो”, उहाँले भन्नुभयो, “प्राधिकरणले गत भदौमा नयाँ डिजाइन स्वीकृत गरेर कार्यादेश दिएपछि अहिले काम शुरु गरेका छौँ ।” पुलको पाउद्वारतर्फको पिलर निर्माण शुरु गरेको निर्माण कम्पनीले पोखरेबगर तर्फको पिलरको जग खन्ने तयारी गरेको छ ।

पच्चीस मिटर लामो पुल बनाउनुपर्नेमा काठमाडौँको परामर्शदाता कम्पनी ग्रिड कन्सल्टेन्सीले २० मिटर लामो पुलको डिपिआर बनाएको थियो । सोही डिपिआरको आधारमा ठेक्का लगाइएकाले पुल निर्माण प्रभावित भएको अन्नपूर्ण–५ का कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताउनुभयो ।

घारखोलामा पुल नहुँदा २०० घरधुरीको बसोबास भएको चार वर्षअघि सडक पुगेको पाउद्वार गाउँ बर्खामा यातायात सम्पर्क विच्छेद हुने गरेको छ । “घारखोलामा पुल बन्यो भने बाह्रै महिना गाडी चल्छ”, वडाध्यक्ष तिलिजाले भन्नुभयो, “सडक भए पनि पुल नहुँदा पैदलयात्रा गर्न र घोडा खच्चरबाट ढुवानी गर्नुपर्ने बाध्यता छ ।”

भूकम्प प्रभावित सडकअन्तर्गत प्राधिकरणले पोखरेबगर–चित्रे सडक र घारखोला मोटरेबल पुल योजना छनोट गरेको थियो । बेनीमा कार्यालय स्थापना हुनुअघि नै तयार भएको डिपिआरमा ठेक्का लगाइसकेपछि प्राविधिक त्रुटि भेटिएपछि पुनःडिजाइन गरेर काम अघि बढाएको एकाइका प्रमुख नारायण ढकालले बताउनुभयो ।

“डिजाइन संशोधन गरेर २५ मिटरकै पुल बनाउन लागिएको छ”, उहाँले भन्नुभयो, “ठेकेदारले पनि कामलाई तीव्रता दिएका छन् ।” परामर्शदाताले एउटा ठाउँको योजनाको डिपिआरलाई अर्को ठाउँको भनेर दिएकाले पुल निर्माण कार्य प्रभावित भएको हो । शिलान्यास कार्यक्रममा निवर्तमान सांसद थापाले रद्द हुने अवस्थामा पुगेको पुललाई धेरै मेहनत गरेर कार्यान्वयनको अवस्थामा ल्याइएको बताउनुभयो । घारखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि नेपाने, पाउद्वार, किन्दु, स्वाँताका बासिन्दालाई सुविधा पुग्ने जनाइएको छ ।

शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, नेकपाको ओली समूहका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठलगायतको उपस्थिति थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत पोखरेबगरदेखि घार खिवाङ शिख हुँदै चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्रे गर्न २०७५ मङ्सिरदेखि काम भइरहेको छ । ठेकेदारले पर्याप्त मात्रामा मजदुर र उपकरण परिचालन गर्न नसकेका कारण सम्झौताको म्याद सकिए पनि करिब आधा मात्र भौतिक प्रगति भएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।