हिले-पाख्रीवास सडक खण्ड वैशाख १५ सम्ममा कालोपत्रे गरिसक्ने निर्णय
धनकुटा,९ चैत । आगामी वैशाख १५ सम्ममा मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले पाख्रीवास सडकखण्ड कालोपत्रे गरिसक्ने निर्णय गरिएको छ । आज धनकुटाको पाख्रीवास नगरपालिकाको कार्यालयमा सरोकारवाला निकायका पदाधिकारी तथा निर्माण व्यवसायी वीच वसेको वैठकले त्यस्तो निर्णय गरेको हो ।
नगर प्रमुख वृष वहादुर राईको अध्यक्षतामा वसेको वैठकले उल्लेखित मितिमा सडक कालोपत्रे गरिनसके कार्यालयद्वारा ठेकेदारले योजना सम्झौता गर्दाको धरौटी -एपीजी तान्ने समेत निर्णय गरेको छ । बाँकी काम वैशाख १५ बाट तत्काल शूरु गर्ने, १५ दिन भित्र सववेश को काम सम्पन्न गर्ने समेत निर्णय गरिएको नगरले जनाएको छ ।
त्यस्तै वैशाख १५ देखी नै पाख्रीवास पञ्चे सम्मको सडक खण्ड कालो पत्रे गर्ने काम प्रारम्भ गर्ने वारेमा निर्माण व्यवसायी रौताहा सन्तोषी विरुवा जेभि सँग वैशाख १० गते भित्र माङमाया पुल सम्म र जेष्ठ मसान्त सम्म माङमाया पुल देखी लेगुवा घाट सम्म कालो पत्रे गर्ने लगायतका प्रतिवद्धता भएको नगरका राजश्व शाखा प्रमुख खेम प्रसाद वस्तिले वताउनुभयो ।
सम्पूर्ण निर्माण ठेक्काको म्याद अवधि भित्र अनिवार्य रुपमा सम्पन्न गर्ने, ठेक्का नं ०७३÷०७४÷१० निर्माण व्यवसायी रौताहा विरुवा जेभि को लेगुवा संखुवासभा जाने वाटो को सम्वन्धमा वैशाख पहिलो हप्ता सम्म सववेशको सम्पूर्ण काम सम्पन्न गर्ने,वैशाख पहिलो हप्ताबाट वेश कार्य प्रारम्भ गर्ने र आगामी असार मसान्त सम्ममा तोकिए अनुसार सम्पूर्ण सडक खण्डको कालो पत्रे गर्ने वैठकले निर्णय गरेको उहाँले वताउनुभयो ।
वैठकमा महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपाल,प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारी लगायत सरोकारवालाहरुको उपस्थिती थियो ।




