चन्द्रागिरि चुचुरोमा…

काठमाडौँ । मानिसको योगदान अथवा असल कामको स्मरण कसरी गर्ने ? सम्मान पत्र प्रदान गरेर, स्मारिका या पुस्तक छापेर, राज्यले उचित या आवश्यक पारिश्रमिक दिएर अथवा उनीहरुको कदरयोग्य केही काम गरेर । मानिसका योगदानको सम्झना विभिन्न विधि र तरिकाबाट गर्न सकिन्छ ।

यहाँ भने स्रष्टाहरुले आफ्ना सृजनाको माध्यमबाट मानिसको योगदानको स्मरण गरेका छन् । चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको पेशा सामान्य समयमा पनि नागरिकको ज्यान बचाउने पवित्र कार्य अर्थात् जिम्मेवारी प्राप्त हो । त्यसमा पनि कोरोना कालमा उनीहरुले गरेको सेवा अरु कोही व्यक्ति तथा केही वस्तुसँग अतुलनीय छ । मानवीय जीवनलाई लगभग सङ्कटमा पार्न आँटेको कोरोना जीवाणुलाई परास्त गर्न उनीहरुले अग्रमोर्चा (फ्रन्टलाइन) मै खटेर काम गरेको हामी सबैले देखेका छौँ । यिनै सेवकहरुको सेवाको सम्मान कविहरुले कविताबाट गरेका हुन् ।

छुँदामात्र पनि सर्नसक्ने प्राणघातक कोरोना जीवाणुको महामारीका बेला पनि आफ्नो ज्यानलाई समेत जोखिममा पारेरै उनीहरुले नेपालीको ज्यान बचाउने काम गरे । हो, उनीहरुको यही पवित्र कार्यको स्मरण र कदर कवि तथा स्रष्टाहरुले आफ्ना सृजनामार्फत् गरे । कोरोनाको उच्च महामारीका बेलामा अग्रमोर्चामा खटेर सेवा गर्ने व्यक्तिहरुप्रति स्रष्टाहरुले आफ्ना सृजनामार्फत् सम्मान प्रकट गरे ।

चन्द्रागिरि हिल्समा अवस्थित खुला रङ्गमञ्चमा कविहरुले सोमबार यी महान् सेवकहरुप्रति समर्पण गरेर कविता वाचन गरिरहँदा नयाँ वर्षको पूर्वसन्ध्यामा त्यहाँ पुगेका आन्तरिक पर्यटकहरुले बडो स्वाद मानेका थिए । उनीहरु आपसमा भन्दै थिए, ‘हो, यस्ता विषयमा पो कार्यक्रम गर्नुपर्छ । आफैँलाई पनि सर्छ भन्ने थाहा हुँदाहुँदै यी सेवकहरुले गरेको जनसेवाको जति प्रशंसा गरे पनि थोरै नै हुन्छ । यस्तो महत्वपूर्ण विषयमा आफ्ना सृजना समर्पण गर्ने श्रष्टाहरु धन्यवादका पात्र हुन् ।’

थर्ड पोल ग्रुप नामक संस्थाद्वारा आयोजित सो कार्यक्रमको शीर्षक थियो ‘कोरोना सङ्क्रमणका समयमा अग्रमोर्चामा खटिएकाहरुप्रति स्रष्टाको सृजना समर्पण ।’ त्यस अवसरमा १२ कविले राष्ट्रका यी सेवकहरुप्रति आफ्ना कविता समर्पण गरेका थिए । उनीहरु भन्दै थिए ‘यो हाम्रा शब्दले गर्ने सम्मान हो, तर उनीहरुको कामका लागि राज्यले यथोचित सम्मान प्रदान गरोस्, उनीहरुको यस्तो पवित्र कार्यको उचित कदर सरकारले गरोस् । ’

अचेल आँशुहरु छापिन्छन्
अखबारमा
अखबारका केस्रा केस्रामा
घुगुती खेलिरहेछन्
आँशु उफार्दै
केटाकेटीहरु पीडैपीडामा,
घुयँत्रो पनि खेल्दैछन्
निरीह प्राणाधारहरु ।

कोरोना महामारीका समयको पीडालाई कवि किशोर पहाडीले यसरी उतारे । उनले एक समय नेपालमा कोरोनाको कहरले देशभर सन्नाटा छाएको र महामारी सिर्जित समस्याका कारण देशका अखबारहरुमा अक्षर होइन आँशु छापिएको अवस्थाको चित्रण ‘अश्रु आख्यान’ शीर्षकको कवितामा गरे ।

त्यस समय आफन्त गुमाएका नागरिकका पीडाका साथै मृतकको अन्तिम संस्कार पनि आफूले गर्न नपाएका निकै दर्दनाक समाचार कथाहरु छापिएका हुन्थे । कतै नेपाली सेना तथा शव व्यवस्थापन समूहले सेतो कपडामा पोको पारेर शववाहनमा शव लगिरहेका तस्बीरहरु त कतै श्रद्धाञ्जलि छापिएका हुन्थे । यी सबै समाचार नेपालका थिए, उता विदेशका कथाव्यथा अझ चर्का थिए । यो भूगोलको जताततै कोरोनाको कहर र त्यसले सिर्जना गरेका सामाजिक आर्थिक एवं अनेक सकसका कथाव्यथा त छँदै थिए ।

सङ्क्रमित १२८ जनाभित्र
आफ्नी आमाको स्मृति
आइसियु कोठाभित्र स्मृति आप्mनो लोग्नेको
हात धुवाई बीस सकेन्डभित्र
स्मृति आफ्नो आफूको ।

आइसियुभित्रको कथा हो यो । कोही आफन्त आइसियुमा भर्ना भएका बेला पर्ने पिरको मापन आधुनिक विज्ञानको कुनै यन्त्रले पनि गर्न सक्दैन । आइसियुका बिरामीहरुमा कतिले आमा, कसैले लोग्ने त कसैले आफ्ना सन्तानको आकृति देख्ने गर्छन् । आफन्त परेकाहरुको स्मृतिमा आउँछ यो आकृति । कविले अघि भने–

रगतको टीका लगाएर थामिँदैन आँशु
आँशु थामिन
अब अखबारले आँशुहरुको
बहिखाता खोल्नुपर्छ
आँशु थामिन
अब पिपिइ लगाई काम गरेकाहरुलाई
सलाम गर्नुपर्छ
सलाम गर्नुपर्छ

हो, अखबारमा आँशु छापेर रोकिन्न पीडितको आँशु । कविको सुझाव छ, आँशु थामिन त पिपिइ लगाइ काम गरेकाहरुलाई सलाम गर्नुपर्छ । सलाम, कविको प्रतीकात्मक सन्देश हो, हातले मात्र नभएर विभिन्न हिसाबले गर्न सकिन्छ यस्ता व्यक्तिलाई सलाम । समाजले सम्मान दिएर, राज्यले आवश्यक सुविधा दिएर अनि घर परिवारले माया र हौसला दिएर गर्न सकिन्छ उनीहरुप्रति सम्मान ।

महामारीको शुरुआती समयमा पिपिइ लगाई काम गरेकाहरु जस्तो चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी हुन् या सञ्चारकर्मी नै किन नहुन् राज्यले सुविधा तथा सेवामा रहनसक्ने ढाडस त दियो तर कञ्जुस्याइँ गर्यो । यी क्षेत्रमा काम गर्नेसँग समाज सकेसम्म टाढै बस्न खोज्यो अनि उनीहरुलाई डेरामा बस्न पनि अप्ठेरो पारियो ।

अझै महामारी सकिएको छैन । चिकित्सक, विज्ञका पछिल्ला कुरा सुन्दा लाग्छ महामारीको मध्यान्तर पो हुँदैछ । त्यसैले पनि यी कविताका सन्देश आउने दिनमा अझ धेरै मार्गदर्शक बन्न सक्छन् । पिपिइधारीहरुलाई समाजले आगामी दिनमा अझ धेरै हौसला प्रदान गर्नुपर्ने दिन आउन पनि सक्छन् ।

त्यसैले यहाँ अहिले स्रष्टाहरुले जसरी आफ्ना सृजना समर्पण गरे यसैगरी समाजका हरेक तप्का र तह अनि राज्यले आ–आफ्नो ठाउँ र भूमिकाबाट गच्छेअनुसार ‘सलाम’ गरौँ । माथि स्रष्टाले भनेअनुसार महामारी रोक्न अखबारमा आँशु छापेर हुँदैन पिपिइ लगाएर काम गरिरहेकाहरुलाई सम्मान गनुपर्छ ।

कैयन् जीवनको रक्षार्थ
आफूलाई आहुति दिएर पनि
यो बुद्धको भूमिमा
मानवताको परिचय दियौँ
साँच्चै अन्तरआत्माको अभिवादन छ

कवि युवराज अधिकारी फ्रन्टलाइनमा खटेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई यसरी अभिवादन गरे ।

ठूलाठूला साम्राज्यले पनि
हारेको लडाइँमा
निर्धक्क लड्ने तपाईँलाई
सश्रद्धा शिर झुकाइरहेछौँ ।

महामारीले नेपाललाई मात्र होइन विश्वलाई नै पिरोल्न थालेको वर्षदिन पुगिसक्यो । विश्व विचरण गरिरहेको यो जीवाणुलाई परास्त गर्न खोपको आविष्कारले केही आशा पलाएको छ तर शुरुआती दिनहरुमा लाग्थ्यो मानवीय जीवन नै सङ्कटमा पर्नसक्छ । आर्थिक र प्रविधिको विकासले अब्बल दर्जामा पुगेका विश्वका सम्पन्न देशमा पनि आइसियुको अभावका खबर सुनेपछि त हाम्रा होसले थात छोड्नु स्वाभाविकै हो ।
कवि दिनेश अधिकारीको कविताले हरेक बुबाआमाको आफ्ना सन्तानप्रतिको माया अभिव्यक्त गर्छ । कविको भावनाले महामारीमा आमाबुबा गुमाएकाको मुटु छुन्छ । ‘मरणको आनन्द’ शीर्षकको कविताको भावले भन्छ–

बाबु भएपछि थाहा भयो सन्तानभन्दा माथि केही हुँदोरहेनछ ।

कविताको अन्तिम हरफ भन्छ–

छोरी
कुनै दिन देख्न मन लाग्यो भने आफ्नो बाबुलाई
तिमीले घामतिर हेर्नु
घामका तिनै सुनौला किरणहरुमा
म तिम्रो वरिपरि हाँसिरहेको हुनेछु ।

त्यस अवसरमा प्रभा भट्टराई, राजेश्वर कार्की, लक्ष्मण गाम्नागे, मोमिला, मणि लोहनी, क्रान्ति पराजुली, इल्या भट्टराई र एलिसा ढुङ्गानाले आफ्ना सृजनाहरु प्रस्तुत गरेका थिए । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले निकै भावुक हुँदै आफू कोरोना सङ्क्रमित भएको बेलाको पीडादायी अनुभव सुनाए ।

उनले भने ‘खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भनेजस्तै यो महामारीको मार पर्नेलाई मात्र थाहा हुँदो रहेछ, मैले पनि मृत्युसँग साक्षात्कार गरेर आएको हुँ, तर मेरा यी अनुभवहरुले मजस्ता सङ्क्रमित तथा तिनका आफन्तलाई झन् बढी पीडा होला भनेर मेरा नमिठा यादहरुलाई सार्वजनिक गरिनँ ।’

ढकालले भने, ‘म पनि मृत्युलाई देखेर आएको मान्छे, तपाईंहरुजस्तै कवि भएको भए कति कविता लेख्दो हुँ ? तर कविता लेख्न भने जान्दिनँ ।’ उनले अहिले पनि देश कोरोनाको कहरबाट बाहिर ननिस्किसकेकोले यस्ता सन्देशमूलक कार्यक्रमहरु गरेर महामारीमा खटेकाहरुप्रति श्रद्धा जगाउनुपर्ने बताए।

वरिष्ठ कवि तुल्सी दिवसले कविता अक्षरमात्र होइन भन्दै कवितामा अभिव्यक्त घटना या परिस्थितिले जुनसुकै अवस्थालाई पनि जीवन्त बनाउने धारणा राखे । उनले भने, ‘कसैको पनि असल कामको गुणगानको चर्चा गर्नु भनेको त्यो काम गर्ने व्यक्तिलाई जीवन्त बनाउनु हो, आज हामीले जसरी महामारीमा खटेका, सेवा गरेका व्यक्तिहरुलाई हाम्रा सृजनामार्फत् सम्झियौँ, यसले राज्यलाई पनि यस्ता कार्यको स्मरण गर्न बाध्य बनाएको हुनुपर्छ ।’

कुनै असल र खराब कामको बारेमा समाज र देशलाई जनाउ दिने काम साहित्यकारहरुको हो भन्दै उनले महामारीमा खटेका नेपाली दाजुभाइ दिदीबहिनीहरुप्रति साहित्यकारहरुले सृजनात्मकरूपमा गरेको यो अत्यन्तै ठूलो सम्मान भएको धारणा राखे । हाम्रो देश र विदेशमा पनि महामारीको अन्त्य भइनसकेकोले यस्ता सन्देशमूलक कार्यक्रमहरुका शृङ्खला नै चलाउनुपर्ने सुझाव उनले दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।