वर्षौँपछि गाउँमा अस्थायी प्रहरी चौकी स्थापना, गाउँले खुशी

डोटी, भौगोलिकरूपमा जिल्लाको सबैभन्दा दुर्गम ठाउँ मानिँदै आएको सायल गाउँपालिका–१ छपालीमा पहिलोपटक नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी स्थापना भएको छ । अस्थायी प्रहरी चौकी स्थापना भएपछि गाउँमा शान्ति सुरक्षा कायम हुने भन्दै त्यहाँका नागरिक निकै खुशी भएका छन् ।

गाउँमा प्रहरी चौकी नभएका कारण उक्त गाउँमा विभिन्न घटना घट्ने तथा शान्ति सुरक्षाका लागि निकै समस्या भएको जानकारी पाएपछि अहिले नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “छपाली अलि विकट क्षेत्रमा रहेछ, प्रहरीको उपस्थिति नभएका कारण नागरिकलाई शान्ति सुरक्षा महसुस गर्न समस्या भएको खबर आएपछि अहिले प्रहरी चौकी स्थापना गरेका छौँ, अब शान्ति सुरक्षा कायम हुनेछ ।”

भौगोलिक हिसाबले जिल्ला सदरमुकाम सिलगढीबाट निकै टाढा रहेको बझाङ र बैतडीको सिमानामा पर्ने छपालीमा लामो प्रयासपछि अस्थायी प्रहरी चौकी स्थापना गरिएको सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “छपाली वडा निकै टाढा छ, गाउँमा प्रहरी चौकी नहुँदा नागरिकलाई समस्या थियो, प्रहरी प्रशासन र हामीले गरेको लामो प्रयासपछि बल्ल अस्थायी प्रहरी चौकी स्थापना गर्न सफल भएका छौँ, सबै खुशी भएका छन् ।”

हालै स्थापना गरिएको उक्त प्रहरी चौकीका प्रहरीले दत्तचित्त भएर निष्पक्षरूपमा नागरिकको शान्ति सुरक्षाको क्षेत्रमा काम गर्र्ने उहाँले जानकारी दिनुभयो ।

अब वडामा शान्ति सुरक्षा अमनचैनमा प्रहरी चौकीले महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको र नागरिकबाट पनि प्रहरीलाई सदैव पूर्ण सहयोग हुने नेकपा एमाले डोटी जिल्ला कमिटी सदस्य तथा स्थानीयवासी धनबहादुर नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लामो प्रायसपछि हाम्रो वडामा प्रहरी चौकी स्थापना भएको छ, नागरिकस्तरबाट पनि पूर्ण सहयोग हुनेछ, हामीलाई पनि शान्ति सुरक्षा प्रदान हुनेछ ।”

उक्त वडामा सामान्य झैझगडाका घटना भए पनि नागरिकले कम्तीमा तीन घण्टाको पैदल दूरीमा रहेको इलाका प्रहरी कार्यालय मौवा नगदरदहमा गएर उजुरी गर्दै आएको र अब उक्त समस्या समाधान भएको अर्का स्थानीयवासी रोहितबहादुर देउवाले बताउनुभयो ।

जिल्लामा पछिल्ला केही महिनायता अस्थायी प्रहरी चौकी स्थापना गर्ने क्रम बढेको छ । हालसम्म जिल्लाका गड्सेरा, खड्यौँली, छपाली, तल्कोटलगायतका क्षेत्रमा प्रहरीले नागरिकको मागबमोजिम अस्थायी प्रहरी चौकी स्थापना गरेको छ ।

नयाँ स्थापना भएका प्रहरी चौकीमा प्रहरीले नागरिकको शान्ति सुरक्षादेखि अन्य काम तथा मुद्दाहरू गाउँमै सबैको रोहवरमा मिलापत्र गर्दै आएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । सामान्य खालका मुद्दा गाउँमै मिलापत्र हुन थालेपछि जिल्ला प्रहरी कार्यालयसम्म नागरिकले न्यायका लागि धाउनुपर्ने समस्यासमेत हटेको प्रहरीको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖